नवनियुक्त मुख्यमन्त्री कँडेलले बुधबार शपथ लिने

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले बुधबार शपथ लिने भएका छन् । प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

कँडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्षक मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गरेका थिए ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । चैत २१ गते राजकुमार शर्माले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आव्हान गरेका थिए ।

४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन चाहिने आवश्यक संख्या २१ हो । जसमा गठबन्धनको पक्षमा २४ जना सभामुखसहित सांसद छन् ।

मुख्यमन्त्री कँडेलको संक्षिप्त जीवनी

२०१८ साल कात्तिक २५ गते दैलेखको गुराँस गाउँपालिकाको गाईबान्नामा जन्मिएका यामलाल कँडेलले २०३६ सालमा सुर्खेतको दशरथपुरमा भएको पञ्चायती शासकविरुद्ध किसान आन्दोलनबाट राजनितिमा सक्रिय भएका थिए । तत्कालीन अवस्थामा उनी सुर्खेतकै शिखर मावि रामघाटमा शिक्षण पेशामा संलग्न थिए ।

त्यसअघि महेन्द्र बहुमुखी क्याम्पस बाँकेको अनेरास्ववियू प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनिति शुरु गरेका कँडेलले अञ्चल कमिटी सचिवहुँदै केन्द्रीय कमिटी सदस्य (२०३९ देखी २०४२) सम्म भए । २०४१ सालमा शान्ति सुरक्षा मुद्दामा काठमाण्डौंको भद्रगोल जेलघरमा ९ महिना जेलजीवन समेत उनले विताए ।

२०४२ सालदेखि २०४६ सम्म नेकपा (एमाले) काठमाण्डौंको विद्यार्थी फाँटको काममा संक्रिय सदस्यहुंदै कार्यवाहक सचिवसम्म जिम्मेवारी पाएका थिए । २०४९ सालमा नेकपा (एमाले) सुर्खेतको प्रथम जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित कँडेल प्रजातन्त्र स्थापनापछि २०४९ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका हुन् ।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट सुर्खेत क्षेत्र नं २ वाट प्रतिनिधिसभा सदस्य निर्वाचित कँडेलले २०५२ सालमा नेकपा (एमाले) भेरी अञ्चल सचिव निर्वाचित भएका थिए । २०५४ सालमा (३६ वर्षको उमेरमा) नेपाल सरकारको पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री समेत भईसकेका छन् ।

२०६२/२०६३ सालमा राजा ज्ञानेन्द्रको निंरकुशता विरुद्धको आन्दोलनको नेतृत्व गर्दा सुर्खेतको वीरेन्द्रनगरबाट गिरफ्तार कँडेलले सुर्खेत कारागारमा ३ महिना जेल जीवन विताएका थिए । २०६४ सालको पहिलो संविधासभा निर्वाचनमा सुर्खेत क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचित कँडेलले नेकपा एमालेको नवौं महाधिवेशबाट केन्द्रीय सदस्यहुँदैं पोलिटव्यूरो सदस्यमा निर्वाचित, तत्कालिन भेरी अंचल इन्चार्जहुँदै पार्टीको कर्णाली प्रदेश सह–संयोजकको जिम्मेवारीसम्म पुगे ।

२०७२ मा संविधान निर्माणको क्रममा तत्कालीन कर्णाली र भेरीका केही जिल्ला सुदुरपश्चिम प्रदेशमा मिसाएपछि छुट्टै प्रदेशको माग राखेर गरिएको जनआन्दोलनको अगुवाई समेत उनले गरेका थिए । २०७४ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित कँडेल प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलको नेता बनेका थिए ।

कँडेलले २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले) पार्टीको दशांै महाधिवेशनपछि पार्टीको स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जको भूमिकाहुँदै हाल स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज छन् । २०७९ सालमा सुर्खेत प्रदेशसभा निर्वाचन २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित कँडेलले त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक (विएड, एमकम) अध्ययन गरेका छन् ।

 

Translate »