भट्टराई कुलवंशद्वारा शुभकामना आदान प्रदान

सुर्खेत । भट्टराई कुलवंश प्रतिष्ठान कर्णाली प्रदेशले नयाँ वर्षको शुभकामना आदान प्रदानसँगै भित्ते पात्रो विमोचन गरेको छ ।

प्रतिष्ठानले शुक्रबार वीरेन्द्रनगरमा वशिष्ठ गोत्री भट्टराई कुलवंश वीच नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदानसँगै भित्तेपात्रो विमोचन कार्यक्रम गरेको हो ।  कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवम् समाजसेवी शिवप्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा प्रदेश अध्यक्ष कांशीराम भट्टराईको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा वशिष्ठ ऋृषिको सम्झना गर्दै भित्तेपात्रो विमोचन गरिएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा भट्टराई परिवारको कुल पुजा तथा वंशाबलीमा नाम छुट भएका परिवारको लगत संकलन गरी आगामी प्रकाशनमा समावेश हुने गरी केन्द्रमा पठाउने पहल भइरहेको प्रतिष्ठानका कर्णाली अध्यक्ष कांशीराम भट्टराईले जनाए ।  उनले नयाँ वर्ष २०८१ सालले भाईभाईमा एकताबद्ध हुँदै समाजमा उदारणिय परिवार बन्न आग्रह गरे ।

‘आफ्नै घरभित्रबाटै आफ्ना सन्ततिहरुलाई कुल देवता, वशिष्ठ ऋृषि, कुल पुजाका विधि तथा धामी धनन्तरीका बारेका जानकारी गराउदै सकरात्मक सोचको विकास गराउन आवश्यक छ,’ उनले भने, ‘भट्टराई परिवारको इतिहास हेर्दै जाँदा जुम्लाको सिजा क्षेत्र प्रमुख स्थल भएको शिलालेख, ताम्रापत्र, भोजपत्रमा १३२० भन्दा पहिला नै भट्टराईहरुले बसोवास गरेको पाइन्छ, भने राजपरिवार पछि २०२४ साल देखि भट्टराई वंशावली प्रकाशनको प्रयाससँगै २०४९ सालमा प्रथम वंशावली प्रकाशन भएको हो ।’

कार्यक्रममा समाजसेवी शिवप्रसाद उपाध्यायले भट्टराईको इतिहास कुल पुजा र कुलवंशका बारेका एकरुपता कायम गरी सामाजिक क्षेत्रमा उदारणिय कार्य गर्न आवश्यक रहेको औल्याए । उनले भट्टराई परिवारबाट सबैले अनुसरण गर्न सक्ने ब्यवहार र कार्य अपेक्षा गरिएको बताए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद भट्टराई, केन्द्रिय सदस्यहरु प्रेम प्रसाद भट्टराई, देवी भट्टराई, प्रेमप्रसाद भट्टराई, सुर्खेत जिल्ला अध्यक्ष रेशमलाल भण्डारी भट्टराईलगायत दैलेख जाजरकोट र सुर्खेतका भट्टराईहरुको उपस्थिति रहेको थियो ।

Translate »