आज १८औं लोकतन्त्र दिवस

काठमाडौं । आज १८औं लोकतन्त्र दिवस मंगलबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जनआन्दोलन २०६२–६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्रको पुनर्स्थापना भएको सम्झनामा हरेक बैशाख ११ गते यो दिवश मनाउने गरिन्छ ।

२०५९ जेठ ८ गते विघटन भएको संसद् आन्दोलनरत दलको मार्गचित्रबमोजिम ​२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले पुनःस्थापना गर्नुपरेको थियो । त्यसैको सम्झनामा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

२०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।

राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

२०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएको राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलन आरम्भ भयो । २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्स्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ। यो दिन नै गणतन्त्रको जग बन्यो ।

२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्था निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ ।

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्‍यो ।

२०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । २०७४ सालमा संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो, जसअनुसार देशमा तीन तहको सरकार कायम छन् ।

Translate »