२०८३ कात्तिक २ , आइतबार
Sky News Nepal
October 18, 2026

अछाममा तीन दिन देखि विद्युत् सेवा अवरुद्ध



अछाम । विगत तीन दिन देखि अछाम जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ। रुख ढलेका कारण कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ।

कमलबजार, ढकारी र तुर्माखाँदमा जाने विद्युतको कमलबजार नगरपालिका–६ गैरीटाँड बजार नजिक रुख ढलेर तीन वटा खम्बा भाँचिएपछि विद्युत् अवरुद्ध भएको अछाम वितरण केन्द्र प्रमुख हिक्मत बिसीले जानकारी दिए ।

सदरमुकाम मङ्गलसेनमा भाँचिएको विद्युतको खम्बा मर्मत गरेर विद्युत् नियमित गर्ने काम भइरहेको छ। विद्युत् समेत खम्बा भाँचिएका कारण अछामको साफे भएर बाजुरा गएको विद्युत् सेवा समेत अवरुद्ध भएको छ। बुढाबगरको विद्युतको खम्बा भाँचिदा साँफेबगर नगरपालिका–१३ बाब्लामा पनि विद्युत् अवरोध भएको वडा अध्यक्ष रूपबहादुर कुँवरले जानकारी दिए ।

रुख ढलेर विद्युत् अवरुद्ध भएका स्थानमा विद्युतका कर्मचारी खटिएर बिजुलीलाई सुचारु गर्ने काम भइरहेको बताइएको छ। विद्युत् मर्मतका लागि नेपाल प्रहरी र केही स्थानीय पनि सहभागिता रहेको बताइएको छ।

झरीका कारण ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने खोलानालामा पानीको बहाव निकै बढेको छ। अछाममा शुक्रबार बेलुकीबाट निरन्तर रूपमा झरी परिरहेको छ। निरन्तरको झरीले आज नागरिकले सास्ती बेहोर्नु परिरहेको छ । (रेडियो नेपाल )

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार
Translate »