२०८३ कात्तिक २ , आइतबार
Sky News Nepal
October 18, 2026

मुगुको भेटेरिनरी अस्पताल प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

गैरकानूनी लाभ लिई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूले भेडा पकेट कार्यक्रम स्वीकृत गरी भेडा नकिनी कागजात मिलाएर भ्रष्टाचार गरेको आयोगको दाबी छ ।

भेडा खरिद तथा गोठ निर्माण कार्यका लागि ऋणीमोक्ष बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँग सम्झौता भई गोठ निर्माण कार्यमा फिल्डमा नभएको कामलाई भएको भनी भुक्तानी दिइएको आरोप पत्रमा उल्लेख छ ।

नक्कली बिल भरपाई बनाएर बढी भुक्तानी दिएको आरोप उनीमाथि छ । आयोगले प्रमुख बुढाविरुद्ध २० लाख ७० हजार ४४९ रुपैयाँ बिगो कायम गरेको छ ।

त्यसैगरी छायानाथ रारा नगरपालिका मुगुका तत्कालीन इन्जिनियर हरिदेव पंडित र सव-इन्जिनियर विष्णुभक्त हितानलाई पनि आयोगले प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध १६ लाख ७० हजार ६२८ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी ऋणीमोक्ष सहकारीका सञ्चालक सुरबहादुर बुढाविरुद्ध ३ लाख ९९ हजार ८२१ रुपैयाँ बिगो कायम गरिएको छ । कर्णाली एकीकृत महिला विकास मञ्चकी सञ्चालक राधिका मल्लविरुद्ध आयोगले १२ लाख २३ हजार ७ सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।

त्यसैगरी रावत मासु पसलका सञ्चालक तिलकबहादुर रावतविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।  मासु पसल भवन निर्माण कार्यमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी काम भएको भन्दै भुक्तानी लिएको आयोगको दाबी छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार
Translate »