सुर्खेतको भेरीगंगा नगरपालिकाले पत्रकारलाई पुरस्कृत गर्ने
छिन्चु । सुर्खेतको भेरीगंगा नगरपालिकाले नगरक्षेत्र भईरहेका विकास निर्माण कार्यलाई मिडिया मार्फत प्रकाशन तथा प्रसारण गर्ने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
आज नगरपालिकाको १५ औं नगरसभालाई सम्बोधन गर्दे नगरप्रमुख यज्ञप्रसाद ढकालले विकास निर्माण, सुशासन प्रवाह सामाजिक सचेतना लगायतका विषयमा कलम चलाउने सञ्चारकर्मी तथा मिडियालाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
उनले नगरभित्रका सामुदायिक रेडियोको सार्थै सञ्चारकर्मीको क्षमता अभिबृद्धिका लागि कार्यक्रम सञ्चालन गरिने जनाए ।
‘स्थानीय सञ्चार माध्यमहरुको कार्यसम्पादनको आधारमा साझेदारी नीति अवलम्वान गरिनेछ,’ उनले भने, ‘जनताको सु–सूचित हुन पाउने सूचनाको हकको प्रत्याभूति गर्न सार्वजनिक सुनुवाई, मुखपत्र प्रकाशन, जनतासँग मेयर लगयातका रेडियो कार्यक्रम सञ्चालन गरिनेछ ।’
उनले सार्वजनिक परीक्षण, कार्यालयबाट सम्पादित कार्यहरुको चौमासिक सार्वजनिकीकरण गर्ने प्रणालीको विकास गरिने समेत जानकारी दिए । उनका अनुसार सूचना प्रविधिसँग सम्बन्धित तालिम, सेमिनारलगायतका प्रवद्र्धनात्मक विषयहरुलाई सरोकारवाला निकायहरुसँग समन्वय गरी सञ्चालन गरिने छ ।