

सुर्खेत । ब्रिटिस सरकारले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको पूर्वाधार निर्माणका लागि ४० करोड रुपैयाँ दिने भएको छ ।
‘सुरक्षा र न्याय’ परियोजनाका प्रमुख व्यवस्थापक स्टिफेन अट्टरले आज सुर्खेतको भेरीगंगा नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय छिन्चु परिसरमा बन्न लागेको महिला तथा बालबालिका भवन निर्माण पूर्वको स्थलगत अवलोकन गर्दै ब्रिटिस सरकारले ‘सुरक्षा र न्याय’ परियोजना मार्फत कर्णाली प्रदेश प्रहरीलाई पहिलो चरणमा पूर्वाधार निर्माणका लागि उक्त रकम सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।

ब्रिटिस सरकारका पूर्व प्रहरी प्रमुख समेत रहेका अट्टरले ‘सुरक्षा र न्याय’ परियोजन मार्फत नेपाल प्रहरीको क्षमता अभिबृद्धि, संगठनात्मक सुधार, पूर्वाधार निर्माण कार्यमा सहयोग गरिने बताए ।
उनका अनुसार नेपाली महिला तथा बालबालिकाको सामाजिक सुरक्षाको प्रत्याभूति गर्न ‘सुरक्षा र न्याय’ परियोजन नेपाल प्रहरी मार्फत ‘सारा मोडल’ लागु गर्दै वडास्तरमा पाईलट प्रोजेक्ट सञ्चालन गरिनेछ ।


उनले आज ईलाका प्रहरी कार्यालय छिन्चु परिसर भित्र निर्माण हुने भवनस्थलको अवलोकनसँगै भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहरा, १२ नम्वरका वडाध्यक्ष रामबहादुर डाँगी, प्रहरी निरीक्षक मन्जित चौहानलगायतसँग महिला तथा बालबालिकाको अवस्था, उनीहरुका समस्या समाधानका लागि स्थानीय स्तरबाट गरिएका प्रयासहरुको बारेमा समेत जानकारी लिए ।
ब्रिटिस सरकारको सहयोगमा लैङ्गिक विभेद हटाउँदै महिला तथा बालबालिकाको संरक्षणसँगै कानूनमा सहज पहुँच बृद्धिका लागि ५ अबै रुपैयाँको ‘सुरक्षा र न्याय’ परियोजना अहिले कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन गरिएको छ । परियोजनाको अवधि सन २०२७ दिसम्वरमा सकिने ‘सुरक्षा र न्याय’ परियोजनाका कार्यक्रम अधिकृत सन्तोष खतिवडाले बताए ।

उनले ‘सुरक्षा र न्याय’ परियोजना मधेश प्रदेशका जनकपुर उपमहानगरपालिका, सिमरनगढ नगरपालिका र बरथवा नगरपालिका, लुम्बिनी प्रदेशको कोहलपुर नगरपालिका र शिवराज नगरपालिका एवं कर्णाली प्रदेशको भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भईरहेको जनाए ।
परियोजनाले पहिलो चरणमा सुर्खेतको भेरीगंगा नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय छिन्चु परिसरमा दुई तले १० कोठाको महिला तथा बालबालिका भवन निर्माण गरिने ‘सुरक्षा र न्याय’ परियोजनाका कर्णाली प्रदेश संयोजक श्रृजना कार्कीले जानकारी दिईन् ।
उनले परियोजनालाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताईन् । उनका अनुसार पहिलो चरणमा कर्णालीका भेरीगंगा र वीरेन्द्रनगरमा शुरु गरिएपनि यसको प्रभावकारितालाई ध्यानमा राख्दै परियोजना अन्य पालिकामा समेत विस्तार गर्ने लक्ष्य राखिएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरीका पूर्व (एआईजी) मिरा चौधरीलगायतको सहभागिता रहेको थियो ।












