‘एमयुको २०२४ सालमा २०२४ विरुवा अभियान’


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेतले ‘२०२४ सालमा २०२४ विरुवा’ आफ्नै परिसरभित्र रोप्ने अभियान अघि बढाएको छ ।
कर्णाली प्रदेश मुख्यमन्त्री यामलाल कँडेले शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर भित्र वृक्षारोपण गरेर ‘२०२४ सालमा २०२४ विरुवा’ कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले विश्वविद्यालयद्वारा पर्यावरण जोगाउन वृक्षारोपण गरेर हरियाली बढाउन गरिएको प्रयास प्रशंसनिय कार्य भएको बताए ।
वृक्षारोपण लगत्तै प्रदेश सरकारका मुख्यमन्त्री कँडेल, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह सम्मिलित टोलीले विश्वविद्यालय परिसरको अवलोकन भ्रमण गर्नुका साथै उक्त क्षेत्रको सदुपयोग गर्दै सम्भावित पूर्वाधार तथा विकास निर्माणका सम्बन्धमा छलफल गरेका थिए ।

कार्यक्रममा विश्वविद्यलायका उपकुलपति प्राध्यापक ध्रुवकुमार गौतमज्यूले यस अभियानमा जोडिएर साथ सहयोग गर्नेलाई धन्यवाद व्यक्त गरे । उनले ‘२०२४ सालमा २०२४ विरुवा’ अभियान विश्वविद्यालयका सम्पूर्ण ग्र्याजुएट स्कुल, विभाग तथा आंगिक क्याम्पस परिसरमा समेत निरन्तर अगाडी बढ्ने जानकारी दिए ।

‘२०२४ सालमा २०२४ विरुवा’ भन्ने नाराका साथ शुर गरिएको ‘वृहत वृक्षारोपण कार्यक्रम २०८१’ मा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।





