राउटे समुदायका एक युवाको मृत्यु
सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ ।
६ महिनादेखि फोक्सो र कलेजो रोगले पीडित २२ वर्षिय बिर्खबहादुर शाहीको गएराती निधन भएको हो । दैलेखको गुराँस गाउँपालिका–१, सिमेसालमाको जंगलमा बस्दै आएको राउटे बस्तीका ती युवालाई प्रदेश अस्पताल सुर्खेतमा भदौ ३१ गते उपचारका लागि ल्याईएको थियो ।
शाहीको खकार परीक्षण गर्दा क्षयरोग देखिएको अस्पतालले जनाएको छ । शाहीलाई क्यान्सरको थप परीक्षणका लागि मासु लिएर चेक गर्न राउटेहरु मन्जुर नभएपछि अस्पतालले हिजो साँझ डिस्चार्ज गरेको थियो ।
अस्पतालबाट डिस्चार्ज गरेर साँझ बस्तीमा पुग्दै गर्दा शाहीको बाटोमै मृत्यु भएको थियो । शाहीको मृत्युपछि राउटेको परम्परा अनुसार राति नै दाहसंस्कार भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार ४२ वटा घर रहेको यो राउटे बस्तीमा अहिले १ सय ३४ जना मात्र सदस्य छन् ।