नेपालगञ्जमा डेंगु संक्रमण उच्च
नेपालगञ्ज । नेपालगञ्जमा डेंगुको संक्रमण बढ्दै गएको छ । अन्य पालिका भन्दा नेपालगञ्जमा डेंगु को संक्रमण बढेको छ । भदौ १६ देखि असोज ९ गतेसम्ममा बाँकेमा १६ जना बिरामी अस्पताल भर्ना भएकोमा ८ जना नेपालगञ्जका छन् । अघिल्लो महिना आठ जना अस्पतालमा भर्ना भएका थिए ।
सेप्टेम्बर २५ सम्ममा नेपालगञ्जका आठ जना, कोहलपुरका चार जना, राप्तीसोनारीका दुई जना, बैजनाथ र डुडुवा गाउँपालिकाका एक९एक जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन दुर्गा गौतम बताए । यो नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा भर्ना भएका बिरामीको रेकर्ड हो ।
बाँकेमा साउनदेखि नै डेंगु बिरामी देखा परेका थिए । भदौ महिनामा आएर बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । साउन र भदौमा बाँकेमा ९२ जनालाई डेंगु देखिएको फोकल पर्सन गौतमले बताउनुभयो । गत वर्ष असोजदेखि मङ्सिरसम्म डेंगु देखिएको थियो ।
बजार क्षेत्रमा बढी डेंगु देखिएको छ। एडिस जातको पोथी लामखुट्टेले टोकेपछि डेंगु लाग्ने गर्दछ । यो जातको लामखुट्टे पानी जमेको ठाउँमा बस्छ । घरको गमला, टायर, बोत्तल लगायत पानी जमिरहने ठाउँमा यो लामखुट्टे बस्ने गर्दछ ।
सरसफाईमा ध्यान नदिँदा डेंगुको जोखिम बढेको छ । गर्मी महिनामा लामखुट्टे बढी हुने गर्दछ । नेपालगञ्ज गर्मी हुने ठाउँ भएकाले यहाँ हरेक वर्ष डेंगुको जोखिम रहने गर्दछ । स्वास्थ्य कार्यालयले पालिका र डेंगुका बिरामी देखिएका वडासँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम गर्ने गरेको छ ।