झोलुङ्गे पुल निर्माणले स्थानीयलाई सहज

मुगु । छायाँनाथरारा नगरपालिकामा निर्माण गरिएको चैन खोला झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

१४४,.४४ मिटर लम्बाइ र २७ मिटर उँचाइको यो पुलले स्थानीय बासिन्दाहरूको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । पुलले गाउँ र बजारलाई सिधा रुपमा जोडेको छ । यो पुल निर्माणका लागि कुल ३ करोड ११ लाख ९५ हजार ७ सय १० रुपैयाँ ७ पैसा खर्च भएको बताईएको छ ।

२०८१ साल वैशाख ३१ गते सम्झौता भई पुल निर्माण कार्य सुरु गरिएको थियो । २०८१ पुस मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख भएपनि फिनिसिङ बाहेक पुलको सबै काम सकिएको छायाँनाथरारा नगरपालिकाका सब इन्जिनियर कर्णराज भामले बताए । उनका अनुसार कर्णाली इम्फास्ट्रक्चर डेभलपमेन्ट सर्भिस प्रालिले यो पुल निर्माणको जिम्मा लिएको थियो ।

पुलको निर्माणले गाउँबाट बजारसम्म पुग्नको लागि आवश्यक समयलाई उल्लेखनीय रुपमा घटाएको छ । पहिले कठिन बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता हटाउँदै, अब स्थानीयहरूलाई सजिलै र सुरक्षित रूपमा बजारमा सामान किनमेल र व्यापार गर्न सहज हुने छायाँनाथरारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए ।

पुलले शिक्षादीक्षा, स्वास्थ्य सेवा र आर्थिक क्रियाकलापका लागि गाउँ बस्तीमा बजारीकरणमा समेत टेवा मिल्ने अपेक्षा गरिएको छ । नगरपालिकाले स्थानीय जनताको आवश्यकता सम्बोधन गर्दै यो महत्त्वपूर्ण पूर्वाधार परियोजना निर्माणको लागि सम्बन्धित निर्माण कम्पनीसँग सहकार्य गरि पुल निर्माण गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले जनाए ।

स्थानीय बासिन्दाहरूले पुलको निर्माणलाई आफ्नो जीवनस्तर सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएका छन् । पुल निर्माणले सम्पूर्ण क्षेत्रको विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको उनको भनाइ छ ।

Translate »