योजना मागिखाने चलनको अन्त्य गरिनेछ : मुख्यमन्त्री कँडेल


सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास योजना मागिखाने र दिन चलनको अन्त्य गरिने बताएका छन् ।
आज हुम्लाको सिमकोट आईपुगेका मुख्यमन्त्री कँडेलले सरकारी विनियोजित योजनाहरु मैले अग्रीम रकम तिरेर ल्याएको भन्दै निजी उपभोक्ता समिति बनाउने र विकासको रकम कटौती गरेर लिने प्रवृतिको अब अन्त्य गरिने जनाए । प्रेस चौतारी नेपाल हुम्लाले सिमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारका अन्य दुई जना क्याविनेट मन्त्री सहित पुगेका मुख्यमन्त्री कडेलले तीनै तहका सरकारबाट आउने योजनाहरु माग्ने र दिनेको नभएर सेवाग्राही (जनता) को भएको बताए ।
‘संविधानले दिएको भूमिकालाई मैले थप प्रधावकारी बनाउने काममा म लागिरहेको छु । मैले मुख्यमन्त्री पद सम्हालेको दिनदेखि संघीय सरकारसँग कर्णालीका लागि चारवटा कुरा माग गरेको छु,’ उनले भने, ‘कोहलपुरदेखि सुर्खेतसम्मको सडक, सुर्खेतदेखि हुम्ला, सुर्खेतदेखि डोल्पा, कालिकोटदेखि नाक्चेलाग्ना र सुर्खेतदेखि कर्णालीका जिल्लाहरुमा नियमित हवाई उडान हुने पूर्वाधार निर्माणमा आवश्यक बजेटको व्यवस्था मिलाउन संघीय सरकारलाई भनिरहेको छु ।’

संघ, प्रदेश र स्थानीय तहले गरेको भनेर विवाद गरिरहनु आवश्यक नरहेको जिकिर गर्दै मुख्यमन्त्री कँडेलले हरेक सेवाग्राही नागरिग र स्थानीय सरकारले जुन सरकारबाट आएका योजना भएपनि त्यसको पारदर्शिता र जवाफदेहितालाई ख्याल गरेर कार्यान्वयन गर्ने हो भने कर्णालीको विकास बजेटको भन्दा धेरै हुने दावी गरे ।
प्रदेश सरकारबाट विनियोजित योजनाहरुको अनुगमन, प्रदेशका नीति निर्माण र कानूनी व्यवस्था लगायतका विषयमा हुम्लाका राजनीतिक दल, सरकारी कर्मचारी, नागरिक अगुवाहरुसँगको छलफल तथा अनुगमनका लागि सिमकोट आईपुगेका मुख्यमन्त्री कँडेल केही दिन हुम्लामै भईरहेका विकास निर्माण कार्यको अवस्थाको जानकारी लिने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकिय सचिव घनश्याम पाण्डेले बताए ।
सिमकोट आईपुगेका मुख्यमन्त्री कडेललाई भौतिक पूर्वधार मन्त्री शेरबहादुर बुढा, जलस्रोत तथा उर्जा मन्त्री बिजय बोहरा, एमालेका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, सुरक्षाकर्मी र हुम्लाका नागरिकले सांस्कृतिक झाँकीसहित स्वागत गरेका थिए ।

