सल्यानमा ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो
सल्यान । सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा ट्रक चालक २४ वर्षीय मान बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
चालक भण्डारीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।
सोमबार नै १४ वर्षका गोवद्र्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको थियो । दुई जनाको घटनास्थलमै र एकजनाको बाटोमा मृत्यु भएको थियो ।
यस्तै दुर्घटना परी अन्य आठ जना घाइते भएका थिए । घाइते हुनेमा खुमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत र ३५ वर्षीय देव बहादुर बस्नेतको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ भने १७ वर्षीय जित सागर बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खत्रीले बताए ।
अन्य सहचालक १८ वर्षीय रोनक भण्डारी,२२ वर्षीय हिक्मत पुन, २९ वर्षीय शंकर खड्का र १७ वर्षीय सञ्जिव बस्नेत उपचार पश्चात डिस्चार्ज भइसकेको उनले बताए।
सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको रा १२ ख २४०२ नम्बरबको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको थियो । बाटोमा रहेको रुखलाई बचाउन लाग्दा गाडी सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।