नेपालबाट भारतपछि बङ्गलादेश विद्युत निर्यात शुरु
काठमाडौं । २०८१ सालमा नेपालमा उत्पादित बिजुली भारतपछि बङ्गलादेशतर्फ निर्यात शुरु भएको छ । क्षेत्रीय विद्युत व्यापारमा यो अर्को ऐतिहासिक परिघटना पनि हो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्विच अन गरी विद्युत निर्यातको शुभारम्भ गरेका छन् । नेपाल र भारतबीचमात्र विद्युत व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत तेस्रो देशमा विस्तार भएको छ ।
नेपालमा उत्पादित विद्युत भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनहुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशवीचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) चार सय केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत पुग्नेछ । नेपालबाट भारतहुँदै बङ्गलादेशतर्फ विद्युत निर्यात मध्यान्ह १२ः३० बजेबाट शुरु भएको हो । यसवर्ष (सन् २०२४) को वर्षायाममा विद्युत निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ ।
त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत निर्यात शुरु हुनेछ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८ दशमलव ६० र २१ दशमलव ४० गरी ४० मेगावाट विद्युत बङ्गलादेशतर्फ निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो । केन्द्रीय विद्युत प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत सन् २०२९ अक्टोबर २ सम्म बङ्गलादेश निर्यात स्वीकृति दिएको हो । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् । नेपाल विद्युत प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको जुन १५– नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्नेछ ।
नेपाल–बङ्गलादेशबीच विद्युत व्यापार डलरमा हुनेछ । प्राधिकरणले बङ्गलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट (शुक्रबारको विदेशी मुद्रा विनियम दर अनुसार ८ रुपैयाँ ६२ पैसा) पाउने छ । नेपालले विद्युत बिक्रीबाट पहिलो पटक डलरमा आम्दानी गर्न लागेको हो । भारतसँगको विद्यूत व्यापार भारतीय रुपैयाँमा हुँदै आएको छ ।
प्राधिकरणले शुक्रबार साँढे ११ घण्टा बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत निर्यातबाट २८ हजार १६० डलर ( रु ३७ लाख ९३ हजार चार सय ३३ ) पाउने छ । बङ्गलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर बिन्दुमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बङ्गलादेशले नै व्यहोर्ने छ । नेपालबाट ४० मेगावाट विद्युत भारतीय प्रसारण ग्रिड प्रयोग गरी बङ्गलादेश लैजानका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन, भारत र बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी) बीच गत असोज १७ गते त्रिपक्षीय विद्युत् बिक्री सम्झौता) (Power Sales Agreement-PSA ) भएको थियो ।
त्रिपक्षीय विद्युत बिक्री सम्झौतापछि प्राधिकरणले गत २३ असोजमा बङ्गलादेश विद्युत निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत प्राधिकरणमा पठाएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरण बिहीबार स्वीकृति दिएपछि शुक्रबारबाट विद्युत निर्यात शुरु गरिएको हो ।
कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत बङ्गलादेश, भारत र नेपालका निकायहरु वीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आव्हान गरेको थियो । प्राधिकरणले विद्युत बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युतको दरसहितको बोलपत्रसम्बन्धी कागजात पेस गरेको थियो । प्राधिकरणले पेस गरेको बोलपत्र स्वीकृत भएपछि त्रिपक्षीय विद्युत बिक्री सम्झौताको प्रक्रिया अगाडि बढेको थियो । रासस