पेट्रोल पम्प खोल्ने हो ? कर्णालीका पाँच जिल्लाका लागि आवेदन खुल्दै
सुर्खेत । तपाई नयाँ पेट्रोल पम्प स्थापनाका लागि इच्छुक हुुनुहुन्छ ? हुनुहुन्छ भने अहिले उपयुक्त मौका आएको छ । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्पका लागि लाइसेन्स खुला गर्ने तयारी गरेको छ ।
नेपाल आयल निगमले कर्णालीका पाँच जिल्लामा पम्प सञ्चालन गर्ने तयारी थालेको छ । प्याक्ट बिक्रेतामार्फत बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमले तयारी गरेको हो । पम्प नहुँदा बोटलरबोटलमार्फत इन्धन बिक्री हुन्छ । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएका छन । उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले सबै जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जनाए ।
‘दुर्गममा पम्प नहुँदा प्याक्ट बिक्रेता (ड्रमबाट) बिक्री हुन्छ । पहुँच नभएको स्थानमा बोटलबाटै बिक्री हुन्छ, त्यो पनि महँगो मूल्यमा । सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिएको जिल्ला प्रशासन कार्यालयबाट गुनासो आएको छ,’ निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, ‘सर्वसाधारणको हितलाई मध्यनजर गर्दै पम्प सञ्चालन नभएका जिल्लामा खोल्न निगम सञ्चालक समितिले स्वीकृति दिइसकेको छ । अब छिट्टै सूचना प्रकाशन गर्छौं ।’
निगमले सबै जिल्लामा पेट्रोल पम्प पुर्याउने उद्देश्यले कालीकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा कम्तीमा एउटा पम्प खोल्ने योजना बनाएको छ । भट्टका अनुसार पहिलो चरणमा निजी क्षेत्रका लागि खुला गरिनेछ । निजी क्षेत्र इच्छुक नभए निगम आफैंले सञ्चालन गर्ने तयारी थालेको छ । निगमले अहिले विवरण संकलन गरिराखेको जनाएको छ ।
‘इजाजत लिएर सञ्चालन नगरेको पनि हुन सक्छ । महँगो भएका कारण सञ्चालन नभएको पनि हुन सक्छ । यी सबैको खोजी भइराखेको छ,’ निगमका प्रवक्ता पूर्ण रिजालले भने, ‘साधारण पम्प नभएका जिल्लामा पहिलो प्राथमिकतासहित छिट्टै सूचना प्रकाशन गर्नेछौं । पूर्वाधार पुर्याउन सक्नेले पम्प सञ्चालन गर्न सक्छन् ।’
पम्प सञ्चालनका लागि पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ मा स्पष्ट व्यवस्था गरिएको छ । अहिले प्राथमिकतामा परेका पाँच जिल्लाको हकमा ‘ग’ वर्गका पम्प सञ्चालनको अनुमति दिइनेछ । विनियमावलीअनुसार ‘ग’ वर्गका पम्प सञ्चालन गर्न जग्गाको क्षेत्रफल कम्तीमा १२०० वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी ६ आना (पहाडी भेग) भई सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्छ ।
बिक्री स्थल हाताभित्र विभिन्न सुविधायुक्त मास्टरप्लान नक्साबमोजिम कम्तीमा ७६ वर्ग मिटर ‘प्लिन्थ क्षेत्रफल’ को पक्की बिक्री कक्ष भवन निर्माण गरेको हुनुपर्छ । प्रस्तावित बिक्रीस्थलको राजमार्गको ‘क्यारेज वे’ देखि ‘एप्रोच यार्ड’ तथा पार्किङ स्थलको पेभमेन्ट ब्याकटप कंक्रिट वा इन्टरलकिङ कंक्रिट टायलले फिनिसिङ गरेको हुनुपर्छ ।
अन्डरग्राउन्ड स्टोरेज टैंक र शौचालय बीचमा राजमार्गबाट नदेखिने गरी २ मिटर अग्लो स्क्रिन वाल निर्माण लगायत पूर्वाधार बनाउनुपर्छ । यी बाहेक सिमानाको पर्खाल, रिफ्युलिङ जोनको सेड, सर्फेस ड्रेनेज, स्क्रिन वाल, वफर स्ट्राइप, डिस्पेन्सिङ पम्प जडानलगायतको पूर्वाधार पनि तयार गर्नुपर्ने निगमले जनाएको छ । यी पूर्वाधार पूरा गर्न सक्नेले पम्प सञ्चालन गर्न इजाजत पाउने निगमको भनाइ छ ।