नौवस्ता सुधार गृहबाट भागेका १३ जना बाल बिजाइँकर्ता मध्य ९ भेटिए ४ जनाको खोजी कार्य जारी
बाँके । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता सुधार गृहबाट फरार भएका १३ जना मध्ये ९ जना बाल बिजाइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार साँझ ५ बजे खाना खुवाउने क्रममा बाल बिजाइँकर्ता फरार भए लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी युनिटहरूबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी ९ जनालाई नियन्त्रणमा लिएको छ भने ४ जनाको खोजी भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
सुधार गृहबाट भागेको यो पहिलो घटना भने होइन । गत कार्तिक २६ गते यो बाल सुधार गृहबाट ३ जना बाल बिजाइँकर्ता भागेका थिए भने तिनीहरू अहिले सम्म भेटिएका छैनन् । सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको बाल सुधार गृहमा अग्लो पर्खाल भए पनि बाल बिजाइँकर्ता भागेको पाइएको छ ।
एसपी कार्कीले भने, ‘‘के कसरी उनीहरू भागे भन्ने अनुसन्धान सुरु गरेका छौं । खोजीमा जिल्लाका सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।’
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले पटक–पटक यस्तो घटना हुनु चिन्ताको विषय भएको भन्दै यस विषयमा सुरक्षा समितिबाटै सुधार गृहका विषयमा आजै गृह मन्त्रालयलाई पठाएको बताए । उनले थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको जनाए । कानुनी र नीतिगत सुधार जरुरी रहेको उनको भनाइ थियो ।