बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा अनुगमन तथा स्विप अपरेसन सुरु


बाँके । बर्दिया राष्ट्रिय निकुञ्जले गैँडाको अवस्था तथा सङ्ख्या यकिन गर्न र वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन तथा स्विप अपरेसन सुरु गरेको छ । यस अभियानमा निकुञ्ज सुरक्षाका लागि खटिएको नेपाली सेना जबरजंग गण, डिभिजन वन कार्यालय बर्दिया र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको संयुक्त सहभागिता रहेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक कुमार रामका अनुसार गैँडाको संरक्षणको लागि निकुञ्जभित्र र आसपासका क्षेत्रमा गस्ती गरिनुका साथै चोरी सिकार हुन सक्ने सम्भावित क्षेत्रहरूको अनुगमन भइरहेको छ । यस अभियानको अर्को उद्देश्य वनजंगलमा अल्झिएका वन्यजन्तुको उद्धार गर्नु, मरेका वन्यजन्तुलाई पत्ता लगाउनु, र वन्यजन्तुहरूको प्राकृतिक अवस्था सुनिश्चित गर्नु हो ।
अनुगमनका लागि ६ वटा हात्ती र ३० जना जनशक्ति परिचालन गरिएको छ । यो टोलीले खाता जैविक मार्ग क्षेत्र, भारतीय सीमा क्षेत्र, निकुञ्जको बबई भ्याली, र गेरुवाको लालमाटीदेखि कोठियाघाटसम्मको क्षेत्र कभर गर्नेछ । खाता जैविक मार्गमा चारवटा गैँडा रहेको अनुमान छ भने बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा एकसिङे दुर्लभ गैँडा रहेको आधिकारिक अभिलेखमा उल्लेख छ।

यो अभियान १५ दिनसम्म सञ्चालन हुने र यस क्रममा गैँडाको सङ्ख्या, उनीहरूको अवस्था, चोरी सिकारीको जोखिम, र संरक्षणका चुनौतीहरूबारे विस्तृत प्रतिवेदन तयार गरिनेछ ।
निकुञ्जमा गैँडाको महत्त्वपूर्ण उपस्थिति र जैविक विविधताको संरक्षणका लागि यस्तो अभियानले दीर्घकालीन रूपमा ठोस परिणाम दिने अपेक्षा गरिएको छ । साथै, गैँडाको प्रजाति सुरक्षित गर्न र जैविक मार्गमा वन्यजन्तुहरूको स्वतन्त्र आवागमनलाई सुनिश्चित गर्न यो प्रयास महत्वपूर्ण छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको यस्तो पहलकदमीले वन्यजन्तु संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । यसले गैँडाको अस्तित्व जोगाउन मात्र नभई जैविक विविधताको प्रवर्द्धनमा पनि योगदान पुर्याउनेछ ।

