माथिल्लो कर्णालीमा एसजेभिएन र आइआरइडीए भित्रिने


काठमाडौं । ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना अब बन्ने आस पलाएको छ ।
माथिल्लो कर्णाली बनाउन यसअघि भारतीय सरकारी कम्पनी सतलज र आइआरइडीए भित्रिएको थियो । जीएमआरले भारतीय सरकारी संस्था सतलज जलविद्युत निगम लिमिटेड (एसजेभिएन) र इन्डियन रिन्यूएबल इनर्जी डेभलपमेन्ट एजेन्सी (आइआरइडीए) लाई इक्विटी सेयर बेचेको थियो । इक्विटी सेयरसँगै आयोजना विकास गर्ने गरी सम्झौता पनि भइसकेको छ ।
कम्पनीले एसजेभिएनलाई ३४ प्रतिशत र आइआरइडीएलाई ५ प्रतिशत इक्विटी बेचेको हो । अब जीएमआरसँग ३४ प्रतिशत इक्विटी रहेको छ भने २७ प्रतिशत हिस्सा नेपाल विद्युत प्राधिकरणले निःशुल्क पाइसकेको छ । अब भारतीय २ कम्पनी र जिएमआरले मिलेर आयोजना विकास गर्ने छन् ।

कम्पनीले अबको करिब १ वर्षमा आयोजनाको वित्तीय व्यवस्थापन गर्नुपर्ने छ । कम्पनी ग्लोबल टेन्डरबाट सन् २००८ मा ९ सय मेगावाटको माथिल्लो कर्णाली बनाउने जिम्मा पाएको थियो । वित्तीय व्यवस्थापन गर्न नसकिरहेको कम्पनीले अब काम अघि बढ्ने जनाएको छ ।
जीएमआर इनर्जी लिमिटेडको सहायक कम्पनी जियूकेएजएल नेपालले कर्णाली नदीमा नेपालको अछाम जिल्लामा ९०० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जीएमआरले नेपाल र भारतका साथै बंगलादेश र भारतबीचको अन्तर्देशीय प्रसारण लाइनसम्बन्धी सबै समस्यालाई सक्रिय रूपमा सम्बोधन गर्दै आएको छ ।
भारत सरकारको ऊर्जा मन्त्रालयले जियूकेएचएलको बंगलादेशसँगको विद्युत खरिद सम्झौता (पीपीए) लाई मान्यता दिएको छ । कम्पनीले ५ सय मेगावाट बंगलादेशलाई बेच्ने छ ।
उनीहरूले अन्तिम रूप दिएका लाइनहरूमा ५०० मेगावाट प्रसारण क्षमता उपलब्ध गराएको छ । आयोजनाबाट हुने कुल विद्युत उत्पादनमध्ये करिब १०० मेगावाट नेपाललाई, ५०० मेगावाट बंगलादेशलाई दीर्घकालीन आपूर्ति सम्झौता अन्तर्गत डलरको महसुलमा बिक्री गरिनेछ र बाँकी ३०० मेगावाट विद्युत् भारतमा बिक्री गरिने छ ।

