पोखरालाई हराउँदै सुदूरपश्चिम प्लेअफमा


काठमाडौं । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ ।
टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रन बनाउँदै अलआउट भएको हो । पोखराका लागि ओपनर एन्ड्रिज गोउसले ३६ रन बनाए । उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै रेमन रिफरले ३३ रन, किरण ठगुनाले ३२ रन, दिनेश खरेल १५ रन र जेन मिलकले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि स्कट केग्गेलिनले सर्वाधिक ५ विकेट लिए। हर्मप्रित सिंहले ३ विकेट लिँदा सैफ जैबले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । सुदूरपश्चिमले पहिलो विकेटका रूपमा ओपनर सैफ जैबलाई गुमायो। उनी ८ बलमा १ चौकासहित रेमोन रेफरबाट बोल्ड आउट भए । ३.६ ओभरमा सागर ढकालको बलमा कप्तान कुशल भुर्तेलको हातबाट ब्रान्डन म्याकमुलेनको क्याच छुटेको थियो । उनी त्यसबेला १२ रनमा खेलिरहेका थिए । उनै म्याकमुलेनको विकेट कुशलले आफ्नै नाममा राखे । सुदूरपश्चिमको तेस्रो विकेटका रूपमा म्याकमुलेक २३ रन बनाउँदै सागर ढकालको हातमा क्याच भए ।
दोस्रो विकेट भने विनोद भण्डारीको गयो । उनले १६ बलमा १ चौका र १ छक्कासहित १४ रनमा कुशल भुर्तेलको बलमा विपिन खत्रीको हातमा क्याच भए । चौथो विकेट हर्मप्रित सिंहको गयो । उनले १० बलमा १ छक्कासहति १३ रन बनाउँदै माइकल लिस्कको बलमा सुदीप अर्यालको हातमा क्याच भए । १३.३ ओभरमा सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १०० रन पूरा गरेको थियो ।
पाँचौं विकेटका लागि इशान पाण्डेले आरिफ शेखसँग २२ रनको साझेदारी गरे । १८.१ ओभरमा सुदुरपश्चिमले इशान पाण्डेलाई रिटायर हर्ट गराई स्कट केग्गेलिनलाई क्रिजमा उता । छैटौं विकेट स्कट केग्गेलिनको गयो । उनले ३ बलमा २ रन बनाए । आरिफसँगै आठौं विकेटका लागि नरेश बुढा ऐर ६ रनमा अविजित रहे । पोखराका लागि कुशल भुर्तेलले २ विकेट लिए । माइकल लिस्क, सागर ढकाल र रेमोन रेफरले समान १÷१ विकेट लिए ।

