बाजुरा भूकम्प अपडेट : दर्जनौं घरमा क्षति

बाजुरा । आज बिहान बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्न कार्य सुरु गरिएको छ ।

गिोत्री केन्द्रबिन्दु बनाएर गएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि दर्जनौं घर चर्किएको प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले जानकारी दिए ।

भौगोलिक रुपमा विकट हिमाली जिल्लामा रूपमा रहेका यहाँका स्थानीय पालिकामा आवतजावतमा समय लाग्ने भएकाले प्रहरीको प्रारम्भिक विवरणअनुसार मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण सङ्कलन जारी रहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

भूकम्पका कारण बूढीनन्दा नगरपालिका–४ मा घरभित्र तीन बालबालिका बसेको अवस्थामा घर भत्किएको र बालबालिकालाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरीसँग समन्वय गरी क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडी लगायतका स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।

Translate »