दुना टपरी उद्योगबाट आत्मनिर्भर
बर्दिया । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका महिलाहरूले सालको पात संकलन गरी दुना टपरी उद्योग संचालन गरेर आर्थिक रुपमा आत्मनिर्भर बनाएका छन् ।
बारबर्दिया नगरपालिका–७ का मध्यवर्ती सामुदायिक वनका उपभोक्ता महिलाहरूले वनमा खेर गइरहेका सालका पातको सदुपयोग गर्दै घर नजिकै दुना टपरी बनाउने काम शुरू गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका १० जना महिलाको समूह बनाएर यो कार्य अगाडि बढाइएको छ । महिलाहरूलाई नगरपालिकाले तालिम प्रदान गरेको छ भने वडा कार्यालयले दुना टपरी बनाउने मेशिन उपलब्ध गराएको छ ।
दुना टपरी बनाउने समूहकी सदस्य मीना थारूले भनिन्, ‘पहिले पैसा कमाउनका लागि हामीसँग विकल्प थिएन । अहिले सालको पात प्रयोग गरेर दुना टपरी बनाएर बेच्न थालेपछि मासिक ५ देखि ६ हजार रुपैयाँ आम्दानी भइरहेको छ । यसले हाम्रो घरखर्च चलाउन सहयोग गरेको छ।’
स्थानीय वडा कार्यालयले पनि महिलाहरूको यो प्रयासलाई निरन्तर सहयोग गरिरहेको छ । वडा अध्यक्ष इन्द्रप्रसाद थारुका अनुसार यो योजना महिलाहरूलाई आत्मनिर्भर बनाउनुका साथै वातावरण संरक्षणको दृष्टिकोणले पनि महत्वपूर्ण छ ।
यो उद्योगले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वातावरणमैत्री उत्पादनको प्रयोग बढाउन मद्दत गरेको छ । सालको पातबाट बनाइएको दुना टपरीले प्लास्टिकजन्य सामानको उपयोगलाई घटाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने अभियानलाई पनि बल पुगेको छ ।