कर्णाली विकास बैंकको छानबिन सुरु
बाँके । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शाखाहरूमा अनुगमनसँगै अनुसन्धान तथा छानबिन सुरु गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको बाँके, बर्दिया र दाङ जिल्लामा शाखा कार्यालयहरू सञ्चालनमा छन् ।
बैंकलाई समस्याग्रस्त घोषणा गर्दै नेपाल राष्ट्र बैंकले सञ्चालन समिति र प्रमुख कार्यकारी अधिकृतलाई निलम्बन गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले बैंकको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई पत्राचारसमेत गरेको छ ।
नेपाल राष्ट्र बैंकले ऐनको दफा ८६ (ग) बमोजिम कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नियन्त्रणमा लिएसँगै समस्याग्रस्त कर्णाली डेभलपमेन्ट व्यवस्थापन समूह गठन गरी प्रक्रिया अघि बढाएको छ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले व्यवस्थापन गरिरहेकाले ग्राहकको पैसा नडुब्ने नेपाल राष्ट्र बैंकद्वारा गठित समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले बताएका छन् ।
बैंकको छानबिन गर्ने क्रममा तीन जनाको टोलीसहित बर्दिया आएका संयोजक खतिवडाले समस्याग्रस्त बैंकको विस्तारै तरलता व्यवस्थापन गर्ने गरी काम सुरु गरेको बताए। ४ सय ६६ करोड निक्षेप संकलन गरेको कर्णाली बैंकको ३ अर्बभन्दा बढी लगानी रहेको प्रष्ट्याए ।
नेपाल राष्ट्र बैंकले व्यवस्थापनको कदम चालेकाले कुनै पनि ग्राहकहरूको निक्षेप नडुब्ने विश्वास दिलाए। उनले भने बैंकको समस्या सुल्झाउनेतर्फ हामी लागेका छौं । विभिन्न बैंकहरूसँग अन्तरबैंक सापटी, तरलता व्यवस्थापन, अन्य बैंकहरूसँग करार वा मर्जर गरी समस्या सुल्झाउने राष्ट्र बैंकको तयारी सुनाए । बैंकहरूको सहकारी संस्थाहरू जस्तो अस्तव्यस्त संयन्त्र नहुने भएकाले पनि ग्राहकहरूलाई निक्षेप फिर्ता हुने भएकोले ढुक्क हुन अनुरोध गरे । समूहले बैंकको कर्जा असुली, लिलाम, अचल सम्पत्ति बेचबिखनबाट समेत ग्राहकहरूको निक्षेप फिर्ता गर्ने तयारी राष्ट्र बैंकको छ ।
बैंकमा अनियमितता देखिएको छ । अनुसन्धानपछि प्रतिवेदन तयार हुन्छ । दोषीहरू उपर छानबिन गरी अपचलन भएको रकम घरखेतबाट असुल उपर गर्दै कानुनी कारबाही हुने संयोजक खतिवडाको भनाइ छ । बर्दियाको गुलरिया, बाँसगढी, भुरीगाउँ, ठाकुरद्वारा, राजापुर र सानोश्रीमा गरी बैंकका ६ वटा शाखाहरूमार्फत कारोबार हुँदै आएको छ । बैंक समस्याग्रस्त घोषणा भएसँगै बचत फिर्ता गर्ने ग्राहकहरू बैंकमा आउने गरेकोले बैंकका बर्दियामा रहेका शाखाहरूले सूचना जारी गर्दै अत्यावश्यक ग्राहकहरूलाई २५ हजार रुपैयाँसम्म रकम फिर्ता गर्ने गरेको छ ।