६५ लाख धरौटीमा रिहा भए सभापति लामिछाने
कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रावि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।
काठमाडौं महानगरपालिका(१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । प्रहरी स्रोतका अनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुनेछन् ।