सुर्खेत भित्रिने हरियो तरकारीमा रोकिएन विषादीको प्रयोग, ४१ किलो हिउँदे सिमी नष्ट

सुर्खेत । सुर्खेतमा भित्रिने हरियो तरकारीमा विषादी प्रयोगको मात्रा नघटेको परीक्षणले देखाएको छ ।

कृषि थोक बजार वीरेन्द्रनगर स्थित केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका अनुसार हालसम्म गरिएका परीक्षणबाट तरकारीमा खानै नहुने कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको मात्र बढी भएको पाईएको हो ।

आइतबार तरकारी तथा फलफूलको नमूना संकलन गर्दा बाहिरबाट भित्रिँने हरियो तरकारीमा विषादी मात्रा बढी भएको पाईएको द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ । चितवनबाट ल्याईएको हिउँदे सिमीको नमूना चेकजाँच गर्दा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको मात्र बढी पाईएकाले मुचुल्का उठाएर नष्ट गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायव प्राविधिक सहायक धनसिंह धामीले जानकारी दिए ।

उनले नियमित तरकारी तथा फलफूल चेकजाँचका दौरान चितवनबाट ल्याईएको हिउँदे सिमीको नमूनामा यो तेस्रो पटक कार्वामेट समूहको विषादीको मात्र ५२ दशमलव ६८ प्रतिशत र अर्गानोफस्फेट समूहमा ५३ दशमलव ३१ प्रतिशत इन्जाईम रहेको पाईएको बताए । उनका अनुसार आज चितवनबाट ल्याईएको ४१ किलोग्राम हिउँदे सिमीमा विषादीको मात्र बढी भएकाले नष्ट गरिएको हो ।

यता विषादीको मात्रा तोकिएकोभन्दा बढी पाईएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले जानकारी दिएपछि सरोकारवालाको रोहवरमा नष्ट गरिएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्रजंग शाहीले बताए । उनले यसअघि सुर्खेत र जुम्लामा उत्पादन भएको आलुमा समेत कार्वामेट समूहको विषादीको मात्र अधिक देखिएपछि क्वारेन्टाईनमा राखेर निष्क्रिय बनाईएको जनाए ।

यसैवीच विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले कार्तिक ४ गतेदेखि हालसम्म ४ सय २७ वटा तरकारी तथा फलफूलको नमूना संकलन गर्दा सिमी र आलुमा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको मात्र बढी रहेको पाइएको छ ।

विषादीबारे अनभिज्ञ छन् व्यापारी र उपभोक्ता

दैनिक उपभोग्य वस्तुमा पर्ने तरकारीमा विषादीको मात्रा बढी भएमा मानिसलाई त्यसले रोगी बनाउँछ । हेर्दा राम्रा देखिने तरकारीमा विषादीको मात्रा आँखाले हेरेर थाहा पाउन सकिँदैन् । तरकारीमा विषादी प्रयोग भए/नभएको न व्यापारीले भन्न सक्छन्, न त उपभोक्ताले थाहा पाउँछन् । उपभोक्ताहरु मूल्यबाहेक अन्य कुरामा जानकार छैनन् ।

व्यापारी पनि बिक्रीका लागि आइपुग्ने तरकारीमा विषादीको मात्राबारे सोधीखोजी गर्दैनन् । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका अनुसार विषादीको मात्रा परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम उपभोग योग्य मानिन्छ ।

३५ देखि ४५ प्रतिशतसम्मको मात्रा विषादी भएका तरकारी केही दिन राख्ने र पर्खने गरिन्छ । ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए त्यस्ता तरकारी किनबेच गर्नु हुँदैन । नष्ट गर्नुपर्छ । त्यस्ता तरकारी तथा फलफूल प्रयोगशाला एकाइले चेकजाँच गर्दा विषादीको मात्रा बढी भेटिएमा कृषि बजार व्यवस्थापन समितिको रोहवरमा नष्ट गर्ने गरेको छ ।

Translate »