परपुरुषसँगको प्रेम सम्बन्धका कारण दुई छोरीको हत्या


सल्यान । सल्यानमा एक महिलाले प्रेम सम्बन्ध टिकाई राख्न आफ्नै दुई छोरीको हत्या गरेको खुलेको छ । वनगाड कुपिन्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन् ।
दुई छोरीको हत्या गर्नुको कारण प्रेमी सामु अविवाहित देखाउने रहेको प्रहरीलाई बयान दिएकी छन् । उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी दुई छोरीको पुस २४ गते हत्या गरेकी हुन् ।
सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन् । उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएको र प्रेमीसँगै बिहे गर्ने योजना अनुसार छोरीको हत्या गरिएको पाइएको हो । प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो ।
‘पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनीहरूको चिनजान सामाजिक सञ्जालमार्फत भएको थियो,’ डीएसपी न्यौपानेले भने पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला–मजदुरीका लागि बाहिर गइरहन्थे । घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे । त्यहि बेलादेखि पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै एक युवकसँग प्रेम सम्बन्ध थियो । अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन् । उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन । तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए ।

सामाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो । पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किए । छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरुबीच छिट्टै भेट्ने कुरा भयो । भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमाले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयानसहित स्वीकार गरेको डिएसपी न्यौपानेले बताए ।
‘परपुरुषसँग प्रेम सम्बन्धमा रहेको र आफू अविवाहित भएको देखाउन पूर्णिमाले छोरीहरूको हत्या गरेको पुष्टि हुन्छ,’ डिएसपी न्यौपानेले भने । यसअघि पूर्णिमाले श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन् । हत्या गर्नुअगाडि उनले प्रेमीसँग भने फोनमा कुरा गरेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार पूर्णिमालाई श्रीमान टेकबहादुरले कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिएको खुल्दैन । एकपटक प्रेमीसँग कुरा गरेको देखेपछि भने त्यसो नगर्न भनेर सम्झाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले पूर्णिमाका प्रेमी, उनीहरू दुवैका मोबाइल फोन पनि नियन्त्रणमा लिएर घटना अनुसन्धान गरेको थियो । अहिलेसम्म घटनामा ती युवकको कुनै खाले संलग्नता नखुलेको प्रहरीले बताएको छ। मोबाइलहरु भने फरेन्सिक जाँचका लागि काठमाडौंमा पठाइएको छ । पूर्णिमाविरुद्ध दुई छोरीको हत्याको कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी परेको छ । अन्नपूर्ण पोष्ट

