बाबियाचौर वन नर्सरी : बिरुवा उत्पादनसँगै रोजगारी

बाबियाचौर । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६, बाबियाचौरकी सीता विक विगत एक वर्ष तीन महिनायता व्यस्त छिन् । पञ्चपुरी सव डिभिजन वन कार्यालयमा बहुबर्षिय वन नर्सरीमा पानी राख्ने, झारपात गोडमेल गर्ने र बिरुवा सार्ने उनको दैनिकी बनेको छ ।
पाँच जना छोराछोरीलाई हुर्काउँदै आएकी उनलाई घरखर्चको जोहो गर्न निकै मुस्किल पुथ्र्यो । तर घरछेवैमा वन नर्सरीको स्थापना भएपछि उनलाई दैनिकी गुजार्न सहज भएको छ । कारण हो, वन नर्सरीमा रोजगार पाउनु ।
‘पहिलेपहिले घरखर्च चलाउन निकै गाह्रो थियो, त्यही बेला वन नर्सरी स्थापना भयो,’ उनले भनिन्, ‘नर्सरीमा काम पाउँदा खुसी लागेको छ ।’ उनले पहिलेपहिले मासिक ९ हजारमा काम गर्दै आएकोमा अहिले १५ हजार कमाउछिन् ।
नर्सरीमा काम गरेको रकमले छोराछोरीलाई पढाउन, घरमा नुन, तेललगायत सामाग्री जोहो गर्न सहयोग पुगेको उनको भनाइ छ । बिरुवा नर्सरी केन्द्र स्थापना भएदेखि नै उनी काममा लागेकी हुन् । बाबियाचौरकी २६ वर्षीय चन्द्रा विक पनि दिउँसोमा बिरुवा नर्सरी केन्द्रमै काम गछिन् । नयाँ बिरुवा जमाउने, सार्ने, गोडमेल गर्ने, बिरुवामा पानी राख्नेलगायतका काम गछिन् ।
‘पहिले त दैनिकजसो नै काम हुन्थ्यो, तर अहिले महिनाको १५/२० दिनसम्म काम हुन्छ,’ उनले भनिन्, ‘घरमा खाली बस्नुभन्दा यहाँ धेरै राम्रो छ ।’ उनका श्रीमान् रोजगारीका लागि विदेशमा छन् । घरमा सासू र छोराछोरी छन् । नर्सरीमा काम गरेको रकमले घरखर्च चलाउन श्रीमान आश गर्नु नपरेको उनले बताईन् ।
उनले महिनाको १६ हजारसम्म कमाउछिन् । नियमित वन नर्सरीमै काम पाए गर्ने योजना रहेको उनले सुनाईन्। सीता र चन्द्रा नर्सरीमा काम गर्ने प्रतिनिधिमूलक पात्र मात्रै हुन् । माघदेखि वैशाखसम्मको समयमा केन्द्रमा काम बढी हुन्छ ।
नयाँ बिरुवा जमाउने, बिरुवा सार्ने, नर्सरीमा रहेको बिरुवाको झारपात गोड्ने, पानी हाल्ने, ग्रेडिङ गर्नेलगायत काम हुन्छन् । उक्त समयमा दैनिक १० देखि १२ जनासम्मले रोजगारी प्राप्त गरेको बाबियाचौर सव डिभिजन वन रेन्जर कमला घर्तीमगरले जानकारी दिईन् । बाबियाचौरमा वन नर्सरी स्थापना हुँदा एकातर्फ बिरुवा उत्पादन भएको छ भने अर्कोतर्फ रोजगारी पनि सिर्जना भएको छ ।

६५ हजारमध्ये २० हजार वितरण
दुई रोपनी क्षेत्र ओगटेको नर्सरीमा २७ प्रजातिका बिरुवा लगाइएको छ । अमला, तेजपात, खैर, लप्सि, हर्रो–बर्रो, अमला, कोइरालो, पारीजात, कुरिल्लो, बडहर, बेल, जामुन, सिसौं, खमारी, सजीवन, सितलचीनि, डाले घाँसलगायतका फलफूल, एवं काठजन्य प्रजातिका बिरुवा नर्सरीमा पाइन्छन् ।
काठमाडौं, नेपालगञ्जसँगै स्थानीय स्तरमा संकलन गरिएका बीउ ल्याई बिरुवा जमाइएको छ । नर्सरीको स्थापना हुँदा ६५ हजार बिरुवा जमाइएको मध्ये अहिले २० हजार बिरुवा वितरण भइसकेका छन् । नर्सरीबाट सबै बिरुवा निःशुल्करुपमा प्राप्त गर्न सकिन्छ ।
नर्सरीमा लगाइएका बिरुवा पञ्चपुरी नगरपालिका ११ वटाका समुदायिक वनसँगै संघसंस्थ, स्थानीय बासिन्दाका उपरान्त चौकुने गाउँपालिका, बराहताल गाउँपालिका र वीरेन्द्रनगरलगायतका विभिन्न स्थानमा वितरण गरिएको छ ।
त्यसका साथै विभिन्न सरकारी कार्यालय, प्रहरी चौकी, व्यारेक, पालिकाका कार्यालय क्षेत्रमा समेत बिरुवा पु¥याइएको जिल्ला वन कार्यालय भेरी बाबियाचौर सुर्खेतका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए ।
बिरुवा नर्सरी केन्द्रको स्थापनाका लागि बाबियाचौरमा संरचना निर्माण गरिएको छ । ग्रिन हाउसमा बिरुवा उमार्ने टनेल, टिमुरको टनेल, भवन, गोल घर, गेट तथा नर्सरी वरिपरि तारवार लगाइएको छ । उक्त कामका लागि आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ मा बहुबर्षिय कार्युक्रम अन्तर्गत हालसम्म २५ लाख रुपैयाँ खर्च भएको वन कार्यालयका सूचना अधिकारी रोकायले बताए ।
खाली रहेका जग्गामा लोपोन्मुख प्रजातिका बिरुवा लगाउने उद्देश्यले २०७६ चैतमा नर्सरीको स्थापना गरिएको थियो । त्यसका साथै उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने पनि नर्सरी स्थापना गर्नुको उद्देश्य रहेको वन कार्यालयका सूचना अधिकारी रोकायले जनाए ।