शान्ति सुरक्षाको अवस्था बारे पत्रकारहरुसँग रायसुझाव लिँदै डीआईजी श्रेष्ठ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको भर्खरै जिम्मेवारी सम्हालेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) माधवप्रसाद श्रेष्ठले आज सुर्खेतका पत्रकारसँग कर्णालीको शान्ति सुरक्षासँगै सूचना आदानप्रदानमा सहजता ल्याउन छलफल गरेका छन् ।

छलफलमा शान्ति सुरक्षा, सामाजिक सद्भाव, विपद् व्यवस्थापन, लागु औषध नियन्त्रण, सडक दुर्घटना न्यूनिकरणसँगै पत्रकार र प्रहरी वीच सूचना आदानप्रदानलगायतका विषयमा डीआईजी श्रेष्ठले छलफल मार्फत राय सुझाव संकलन गरेका हुन् ।

उनले कर्णालीमा सुरक्षा निकायहरुले व्यावसायिक समन्वयका साथ कर्तव्य निर्वाह गर्दै शान्ति सुरक्षाको पछिल्लो अवस्था अत्यन्तै ठिक रहेको जनाए ।  ‘नागरिकहरुले जुन ढंगले शन्ति सुरक्षा महशुस गरिरहेका छन् त्यो एक दम विश्वशनीय छ,’ उनले भने, ‘पछिल्लो समय सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउँदै भरपर्दो र विश्वनीय बनाएका छौं ।’

उनले समाजिक र पारिवारिक रुपमा हुने अपराधलाई नियन्त्रण गर्न सोही अनुसार प्रहरीले नागरिकको शान्ति सुरक्षाको लागि दत्तचित्त भएर काममा जुटेको बताए । प्रहरीले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्यलाई उच्च प्राथमिकता दिँदै विपद्का बेला आईपर्ने जस्तोसुकै परिस्थितिमा पनि प्रहरीले आफुलाई तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

यता पत्रकारहरुले पनि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रदेशभरीका दिन मिल्ने सूचना छिटो छरितो र सहज तरिकाले जुनसुकै माध्यमबाट भएपनि दिन सुझाव दिएका थिए ।

Translate »