प्रादेशिक औद्योगिक प्रर्दशनीको सम्पूर्ण तयारी पुरा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबारदेखि लघु औद्योगिक ग्राममा तीन दिने प्रादेशिक औद्योगिक प्रर्दशनी मेला शुरु हुँदैछ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले असार २० देखि २२ गतेसम्म प्रादेशिक हुने प्रादेशिक औद्योगिक प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको विहीबार निर्देशनालयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
प्रदर्शनीमा घलु घरेलु तथा साना उत्कृष्ट उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जानकारी दिएको छ । कृषि तथा वनमा आधारित परम्परागत सीपले परिस्कृत कर्णालीका रैथाने वस्तुहरुको प्रर्दशनी हुने निर्देशनालयका निर्देशक देविलाल सापकोटाले बताए ।

उनले कर्णालीका लघु, घरेलु तथा साना उद्यमीहरुले उत्पादन गरेका वस्तुको गुणस्तर, ब्रान्ड र परिमाणका बारेमा सर्वसाधारण, व्यापारी तथा सरकारी निकायलाई जानकारी दिने उद्देश्यले प्रर्दशनी गर्न लागिएको जनाए । स्थानीय उत्पादनको बजार विस्तार गर्न यस्ता प्रदर्शनीले थप सहयोग पुग्ने उनको भनाइ थियो ।
‘प्रर्दशनीमा कृषि तथा वन पैदावारमा आधारित उत्पादन, परम्परागत सीपमा आधारित उत्पादन, महिला उद्यमी समूह वा सहकारी उद्योग र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्राथमिकता दिईएको छ,’ उनले भने, ‘उत्कृष्ट प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।’
उनले सुर्खेत बाहिरबाट आउने सहभागी उद्यमलाई यातायात, ढुवानी र खानावास खर्चबापत अधिकतम ३ हजार र सुर्खेत जिल्लाभित्रकालाई ६ सय रुपैयाँसम्म उपलब्ध गराइने जानकारी दिए ।
शुक्रबार विहान १० बजे वीरेन्द्रनगर स्थित स्थानीय मंगलगढी चोकदेखि निकाएको ¥याली लघु औद्योगिक ग्राम पुगेर सभामा परिणत हुने उनको भनाइ छ ।