२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

युवालाई दुर्व्यसन मुक्त बनाउन आध्यात्मिक मार्गदर्शन पनि महत्वपूर्ण पाटो हो : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान पुस्ता विशेष गरी युवा वर्गलाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शन पनि आवश्यकता रहेको बताएका छन् ।

आज वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र नेपालका प्रतिनिधिमण्डलसँग भएको भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले समाजमा बढ्दो मानसिक तनाव, आत्महत्या, लागूपदार्थको दुरुपयोग जस्ता समस्याको समाधानका लागि आध्यात्मिक मूल्य र अभ्यासलाई जीवनशैलीमा समावेश गर्नुपर्नेमा जोड दिए ।

‘आजका युवाहरु आधुनिक प्रविधि त छिटो जानिरहेका छन् तर मानसिक रुपमा खोक्रो बन्दै गएका छन् । मोबाइल, सामाजिक सञ्जाल र नशालु पदार्थको लतले उनीहरुलाई भौतिक उन्नतिमा मात्रै केन्द्रित गरिरहेको छ,’ उनले भने, ‘त्यसले दीर्घकालीन रुपमा समाज र राष्ट्रलाई नै असर पार्न सक्छ । ब्रह्माकुमारी संस्था जस्ता आध्यात्मिक केन्द्रहरूले शुद्ध विचार, सकारात्मक सोच, आत्म–अनुशासन र नैतिक जीवनशैलीको अभ्यास गराउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने भूमिका खेलिरहेका छन् ।’

उनले कर्णाली प्रदेशका विद्यालय, युवा क्लब, पुनर्स्थापना केन्द्र तथा सरकारी कर्मचारीहरुलाई लक्षित गर्दै राजयोग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने सुझाव दिए ।

संस्थाका प्रतिनिधिले भौतिक विकाससँगै मानसिक र आध्यात्मिक शुद्धताले मात्र समृद्ध समाज निर्माण सम्भव हुने धारणा राख्दै, राज्यले आध्यात्मिक केन्द्र र सकारात्मक सोचको प्रवर्द्धनमा सहयोग गर्नु पर्ने औल्याए ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार
Translate »