प्रहरी श्रीमती संघ कर्णालीद्वारा श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

सुर्खेत । आज साउन महिनाको अन्तिम सोमबार, सुर्खेतका शिव मन्दिरहरुसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको थियो ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।

आज साउनको अन्तिम सोमबार वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइली स्थित शिव मन्दिरमा जल चढाएर पूजापाठ गर्ने श्रद्धालुहरुको बिहानैदेखि घुइँचो लागेको थियो । मन्दिर आउने श्रद्धालुहरुको सहजताका लागि नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले निःशुल्क खानेपानी वितरण गरेको छ ।

संघका कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठसहितका पदाधिकारीहरुले नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिक उत्सवको अवसर पारेर श्रद्धालुलाई खानेपानी वितरण गरेका हुन् ।

खानेपानी वितरण कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) माधवप्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधिरराज शाहीज्यु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख (एसपी) भावेश रिमाल, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका प्रमुख (एसपी) राजन चापागाईलगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Translate »