‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्त्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट पारे ।

‘यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ, तर भएका विकास र प्रगतिका कुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रङ्गशाला आदि बनाइसकेका छौं,’ उनले भने, ‘कर्णालीको स्याउले अब बजार पाउँछ । अब सबै सदरमुकामसहित हुम्लामा कालोपत्र बाटो पनि जान्छ । हामी सबैले सकारात्मकता र आशा जगाउनुपर्छ । ‘मोटर बाटो चढी जाउँला रारा घुम्न’ जस्ता गीतहरु अब यथार्थ भइसकेका छन् ।’

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरु र दर्शकहरुबीच भएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी भएको स्मरण गराए । उनले सरकारले गच्छेअनुसार कर्णालीको विकासका लागि उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

‘मैले पहिला ग्यास र खानीको उत्खननको कुरा गर्दा उडानेहरुले दैलेखमा मिथेन ग्यासको भण्डार पत्ता लागिसकेको नदेख्न सक्छन्, तर कर्णाली त्यतिसारो वैगुुनी हुन सक्दैन । अब हामी यार्सागुम्बा निर्यात गर्नतिर पनि लाग्नेछौं,’ उनले भने, ‘निरकुंश राजतन्त्रको अँध्यारो युगमा जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।’ रासस

Translate »