घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको अध्यक्षमा गीताकुमारी खड्का

सुर्खेत । नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतको अध्यक्षमा गीताकुमारी खड्का निर्वाचित भएकी छिन् ।वीरेन्द्रनगर स्थित जिल्ला समन्वय समितिको सभाहलमा विहीबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले खड्कालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा पविलाल पोखरेल, उपाध्यक्ष शेरबहादुर नेपाली, महासचिव खिमकुमारी सोतीमगर, सचिव पाण्डवकुमार परियार र कोषाध्यक्षमा ओमप्रसाद शर्मालाई  निर्वाचित गरेको छ । त्यसैगरी  सदस्यमा सुशीला गौतम, नन्दा सुनार, नहकुल जिसी, जानबहादुर डाँगी, जीतबहादुर विसी, नरेशकुमार शाही र पम्फा थापा महतरालाई अधिवेशनले निर्वाचित गरेको हो ।

अधिवेशनले सुर्खेत जिल्ला महिला उद्यमी समितिका पदाधिकारीलाई समेत सर्वसम्मवत निर्वाचित गरेको छ । निर्वाचित समितिको अध्यक्षमा बसन्ती अधिकारी, वरिष्ठ उपाध्यक्षमा विमला आचार्य, महासचिव राममाया भण्डारी, कोषाध्यक्षमा मिरा विश्वकर्मा तथा सदस्यमा नन्दकली मगरलगायत रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीका साना तथा घरेलु उद्योगको विकासमा लगानीसँगै नयाँ प्रविधिको प्रयोग आवश्यक बन्दै गईरहेको औल्याए । उनले विशिष्ट पहिचान बोकेको कर्णालीमा अर्थाह सम्भावना र स्रोत हुँदाहुँदैपनि उद्योगमैत्री नीतिगतसँगै पूर्वाधार विकासको कमीले पछि परेको जनाए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्क्षय पदमबहादुर शाहीले प्रदेश सरकारको ढाकछोप गर्ने नीतिले प्रदेशका साना तथा घरेलु उद्योगको विकासले फड्को मार्न नसकेको बताए । उनले साना, घरेलु तथा मझौला उद्योगका लागि सरकारहरुले पर्याप्त सहयोग नगरेकै कारणले उद्योगसँगै उद्यमी ओझेलमा परेको जनाए ।

‘वीरेन्द्रनगर स्थित ‘कोशेली गृह’ सञ्चालन निमुखा घरेलु तथा साना उद्यमीका लागि हुनुपर्नेमा ठेक्का मार्फत बढी भाडा दिनेलाई आव्हान गर्नु प्रदेश सरकार उद्यम मैत्री छैन् भन्ने स्पष्ट हुन्छ,’ उनले भने, ‘प्रदेशकै मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिले सरकारी कार्यक्रमहरु होटलमा गर्नु हुन्न भन्ने गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन यसै मञ्चबाट आव्हान गर्छु ।’

प्रदेश सरकारले आफ्ना कार्यक्रम आफ्नै संरचनामा गरेपनि मुख्यमन्त्रीले  अरुलाई होटलमा कार्यक्रम नगर्नु भन्नु गलत संदेश गएको उनको बुझाई थियो ।

Translate »