कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध, स्याउ बोकेका दर्जनौं ट्रक बाटोमै अलपत्र


सुर्खेत । कर्णाली राजमार्गको कालिकोट खण्डको गगने खोलामा पहिरोले सडक अवरुद्ध हुँदा स्याउ बोकेका दर्जनौं ट्रक बाटोमै अलपत्र परेका छन् ।
तीन दिनदेखि अवरुद्ध सडक सञ्चालनमा आउन नसकेपछि ट्रकमा राखिएका स्याउ कुहिने त्रास बढेको हो । कालिकोट प्रहरीका प्रहरीका अनुसार भदौ १४ गते विहान गगनेखोलमा पहिरो गएर सडक अवरुद्ध भएको थियो । तीन दिनदेखि जुम्लाबाट स्याउ बोकेर आएका २० वटा ट्रक पहिरो सडक अवरुद्ध पारेपछि सुर्खेत–नेपालगञ्जलगायतका बजारमा पुर्याउन सकिरहेका छैनन् ।

स्याउ बाटोमै कुहिने जोखिम बढेको व्यापारीले बताएका छन् । सडक अवरुद्ध हुँदा ठुला मालवाहक सवारीसँगै अन्य यात्रु बाहक सवारी पनि सडकमै थन्किएका हुन् । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले कालिकोट प्रहरी प्रशासन र सेनासँग समन्वय गरि पहिरोले सडकमा खसेका ढुङगालाई ब्लाष्टिङ गर्ने तयारी भएको जनाए ।
उनले सेनाद्वारा ढुङ्गा ब्लाष्टिङ गरेर आजै सडक खुलाउने प्रयास जारी राखिएपनि छिन–छिनमै वर्षा भईरहेकाले पहिरो पन्छाउन सकस भईरहेको बताए । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, काठमाडौं, पोखरा, धनगढी, कैलाली, चितवन र बुटवलका बजारसम्म पुग्ने गरेको छ । यो वर्ष जुम्लामा १३ हजार मेट्रिक टन स्याउ फल्ने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

