विदेश जाने मोह त्यागेर सार्वजनिक सेवामा आउन आयोगका अध्यक्ष रेग्मीको आव्हान


सुर्खेत । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले स्वदेशमै बसेर सार्वजनिक सेवामा प्रवेश गरी स्वाभिमानका साथ देशको सेवामा लाग्न युवालाई आव्हान गरेका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ को अवसर पारेर आयोजना गरेको ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले विदेश जाने कुरालाई प्राथमिकतामा नराखी स्वदेशमै बसेर सरकारी सेवामा योगदान गर्न युवालाई आव्हान गरेका हुन् ।

उनले निजामति सेवासँगै संगठित विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, विश्वविद्यालय, बैंक लगायतलाई चाहिने योग्य र दक्ष जनशक्ति छनौट गर्ने जिम्मेवारी समेत आयोगलाई रहेको जानकारी दिए । लोकसेवा आयोगको निष्पक्षता, पारदर्शीता र जवाफदेहीताकै कारण आयोगप्रति अधिकांस युवाको आकर्षण बढिरहेको बताउँदै उनले पछिल्लो एक वर्षमा विभिन्न पदहरुका लागि करिब पाँच लाख युवाहरुको (दरस्खात) आवेदन परेको बताए ।


उनका अनुसार कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जुम्ला रुकुम पश्चिम, जाजरकोट, सल्यानलगायतका युवाहरुको समेत लोक सेवा आयोगमा उच्च सहभागिता रहेको छ । नेपालको सबैभन्दा पुरानो संवैधानिक निकाय लोकसेवा आयोग रहेको चर्चा गर्दै अध्यक्ष रेग्मीले सबैको मन जित्ने संस्थाको रुपमा यसको गौरव बनाई राख्न अझै विश्वसनीयता बढाउनुपर्ने दायित्व रहेको औल्याए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले अध्ययन सकेर लोकसेवाको तयारीमा रहेका विद्यार्थीहरुलाई राष्ट्रको सेवा गर्ने अवसरलाई सदुपयोग गर्न आग्रह गरे । आयोगले सञ्चालन गरेको यस प्रकारका कार्यक्रमले लोकसेवाप्रति बाहिर रहेको गलत भ्रम चिर्न समेत सहयोग पुग्ने सचिव यादवको भनाइ थियो ।

सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निष्पक्षता, पारदर्शीता नै लोकसेवा आयोगको विश्वसनीयता भएकाले यसको साख जोगाई राख्न आग्रह गरे । कार्यक्रममा लोक सेवा आयोग केन्द्रीय कार्यालयका सह–सचिव पुरुषोत्तम शर्माले लोक सेवा आयोगको ऐतिहासिक विकासक्रम, संवैधानिक एवं कानूनी व्यवस्था र आयोगको कार्यप्रक्रियाबारे जानकारी गराए ।
योग्यता, निस्पक्षता र स्वच्छतालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको आयोगको परीक्षालाई कठिन नमान्न आग्रह गर्दै उहाँले निरन्तरको मिहिनेतले सफलता हासिल गर्न सकिने बताए । लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले आयोगको विकास र आयोगबाट सञ्चालन हुने गतिविधि तथा परीक्षा प्रक्रियासम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा आयोगका सदस्य दिनेश सिलवाल, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) माधवकुमार श्रेष्ठ, रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, कर्मचारी तथा कक्षा ११ र १२ वा सोभन्दा माथि अध्ययनरत करिब एक सय जना युवा विद्यार्थीहरुको सहभागिता रहेको आयोगको सुर्खेत कार्यालयका सह–सचिव आन्नद पौडेलले जानकारी दिए ।


