कैलाश मानसरोवर जाने तीर्थयात्रीको संख्या बढ्दै, अधिकांश भारतीय नागरिक

सुर्खेत । पवित्र तीर्थस्थल कैलाश मानसरोवरसँग हिन्दु धर्मावलम्बीको अटुट सम्बन्ध छ । उनीहरु यसलाई आराध्यदेव भगवान शिवको बासस्थान भएको विश्वास गर्छन् । चीनको तिब्बतमा अवस्थित कैलाश मानसरोवरमा वर्षेनी सयौंको संख्यामा हिन्दु धर्मावलम्बीहरु दर्शन गर्न पुग्छन् ।

कैलाश मानसरोवरको यात्रा गर्नेमा अधिकांश भारतीय नागरिक रहेका छन् । उनीहरुमा जीवनमा एक पटक कैलाश मानसरोवरको यात्रा गर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । यसवर्ष पनि हुम्ला जिल्लाको सिमकोटबाट हिुल्सा हुँदै कैलास मानसरोवरको दर्शन गर्ने भारतीय र अन्य देशका पर्यटकहरुको संख्या ६ हजार पुगेको छ ।

चिनीयाँ सरकारले हिल्सा नाका भारतीय धार्मिक पर्यटकका लागि खुल्ला गरेपछि कोरोना यताको सबैभन्दा बढी पर्यटकले कैलास मानसरोवरको दर्शन गरेका छन् । सिमकोट हुँदै कैलास मानसरोवरको दर्शन गर्नेको संख्या ६ हजार ४२ जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायब उपरीक्षक) शंकर पोखरेलले जानकारी दिए ।

उनले ती मध्य ५ हजार ७ सय १७ जना भारतीयसँगै ३ सय २५ जना अन्य देशका रहेको बताए । कैलास मानसरोवर पुग्ने मध्य ३ हजार ३ सय ३४ जना पुरुष र २ हजार ७ सय ८ जना महिला रहेका छन् । कैलास मानसरोवर जाने समय अझै बाँकी रहेकाले यो संख्यामा बृद्धि हुने अनुमान गरिएको छ ।

धार्मिक पर्यटकको आगमन बढ्न थालेपछि एकै दिन १ सय ६४ वटासम्म उडान भएको नागरिक उड्यायन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । उनले नेपालगञ्जबाट हवाई जहाजले यात्रुलार्य सिमकोट पु¥याएपछि हेलिकोप्टरदेखि हिल्सासम्म जाने गरेको बताए ।

उनका अनुसार नेपालगञ्जबाट सिता र ताराका दुई/दुई, समिट एयरका तीन वटा जहाजले उडान भर्ने गर्ने गर्छन भने ६ वटा हेलिकोप्टरले हिल्साका लागि उडान भर्ने गरेका छन् । तीर्थयात्रीको संख्या बढ्न थालेपछि हिल्सा र सिमकोटका होटल भरिभराउन हुन थालेको पर्यटन व्यवसायी मिनबहादुर तामाङले बताए । उनले मौसमी रुपमा चल्ने होटेल भएकाले एक सिजनको कमाईले वर्षभरि धान्नुपर्ने अवस्था जनाए ।

उनका अनुसार सिमकोटमा दस र हिल्सामा सात वटा होटेल सञ्चालनमा रहेका छन् । तीर्थयात्रुहरुको आगमनले सिमकोट र हिल्साका भरियालाई पनि सामान ओसार्न भ्याई–नभ्याई भाको छ । सिमकोट विमानस्थलबाट होटेलसम्म एउटा झोला बोकेको भरियाले ५० रुपैयाँ र हिल्सामा हेलिप्याडबाट दुई देशको सिमानासम्म प्रति झोला डेढ सय रुपैयाँ भाडा लिने गरेका छन् ।

तीर्थयात्रुको संख्या बढ्न थालेपछि स्थानीय कृषिजन्य उत्पादनको खपतमा समेत बृद्धि भएको स्थानीय कृषक रुपेन्द्र रोकायाले बताए । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले धार्मिक समानता रहेका नेपाल–भारत मिलेर कैलाश मानसरोवरको छोटो मार्ग निर्माणमा गर्नुपर्ने औल्याएका छन् ।

उनले छोटो मार्गबाट कैलाश मानसरोवरको यात्रा गर्न भारतीय तीर्थ यात्री आतुर रहेको बताए । तत्काल सुर्खेत विमानस्थललाई समय सापेक्ष स्तरोन्नती गरी रातदिन हवाई उडान गर्न योग्य बनाईनु पर्ने उनको भनाइ छ ।

 

Translate »