प्रतिगामीहरु गणतन्त्र उल्टाउन खोज्दैछन् : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरुले उल्टाउन लागिरहेकोले नागरिक सचेत हुनु पर्ने बताएका छन् ।
मंगलबार वीरेन्द्रनगरमा नेकपा एमाले नगर कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले अहिलेको राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ गएको भन्दै सबै नागरिकस्तरबाटै सचेत हुनुपर्नेमा जोड दिएका हुन् । उनले संविधान अहिले अर्धमृत जस्तै अवस्थामा पुगेको दाबी गरे ।
‘सात दशकको त्याग, बलिदान र संघर्षपछि ल्याइएको संविधान आज धरापमा परेको छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरुरी छ,’ उनले भने । उनले सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्थाहरु कार्यान्वयनमा कमजोर देखिएको कारण आजको अवस्था आएको टिप्पणी गरे । चुच्चे नक्साको विषय उठाउँदा नेकपा एमालेको ढालिएको हो उनको भनाइ थियो ।


मुख्यमन्त्री कँडेलले पार्टी कार्यकर्तालाई जनस्तरसँग अझ मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र संगठनलाई बलियो बनाउन आह्वान गरे । उनले भने, ‘व्यक्तिगत कुरा भन्दा पनि परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्छ । अभिलेख र रेकर्ड जिल्ला पार्टी कार्यालयमा उपलब्ध गराउनुपर्छ । सबै वडामा बैठक, भेलामार्फत संगठनलाई सुदृढ पार्नुपर्छ ।’
उनले संविधान दिवसलाई विशेष अर्थका साथ मनाउनुपर्ने भन्दै आवश्यक परे सडक आन्दोलनको तयारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनका अनुसार संगठन बलियो हुँदा मात्र संघर्ष जित्न सकिन्छ, कमजोर हुँदा भने समाजमा विकृति र वेथिती मौलाउने अवस्था आउँछ ।
युवालाई आन्दोलनमा अगाडि ल्याउन र महिलाको सहभागिता बढाउन सकेमात्र जनमत परिवर्तनमा निर्णायक सफलता हासिल गर्न सकिने उनको विश्वास थियो । ‘७० वर्षको संघर्षबाट ल्याइएको गणतन्त्र जोगाउन संगठनात्मक शक्ति, जनविश्वास र निरन्तर अभियान अपरिहार्य छ,’ मुख्यमन्त्री कँडेलले जोड दिए ।


