सुर्खेतको चौकुने शोकमा : एमाले नेता काशीराम देवकोटाको शवयात्रामा उर्लियो मानवसागर


काठमाडौं । देशमा अझैपनि चाडपर्वको रौनक छाएपनि पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका नागरिक शोकमा डुबेका छन् । शनिबार पश्चिम सुर्खेतका सामाजिक तथा राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्व काशीराम देवकोटाको असामायिक निधनले चौकुनेबासी शोकमा डुबेका हुन् ।
नेकपा एमाले सुर्खेतका नेता तथा गुटु गाउँविकास समितिका पूर्व अध्यक्ष ६३ वर्षिय काशीराम देवकोटाको पार्थिव शरीरको अन्तिम दर्शनका लागि आज चौकुनेमा मानव सागरनै उर्लिएको छ । स्वर्गीय देवकोटाका ३ छोरा १ छोरी छन् ।

शवयात्रा अघि देवकोटाको पार्थिव शरीरलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहन बडुवाल लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेकपा एमाले सुर्खेतले आफ्ना प्रिय नेता देवकोटाको पार्थिव शरीरमा एमालेको झण्डा ओढाएर सम्मान दिएको छ । स्वर्गीय देवकोटाको शवलाई उनका छोरा, दाजुभााईहरुले कन्धा दिएपछी शुरु भएको शवयात्रामा एमालेका सयौं नेता कार्यकर्तासँगै चौकुनेबासीले पुष्पमाला चढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् ।


नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य समेत रहेका देवकोटाको पार्थिव शरीर अन्त्यष्टिका लागि अहिले चौकुने र पञ्चपुरीको सीमा बसन्ते खोलामा लगिएको छ ।
यसैवीच चौकुने गाउँपालिका–७, नम्वर वडा कार्यालयले देवकोटाको असामयिक निधनले अनुभवी मार्गदर्शक तथा समाजसेवी व्यक्तित्व गुमाएको बताउँदै सम्मानस्वरुप आज वडा कार्यालय बन्द रहने जानकारी गराएको छ ।



