सुर्खेत विमानस्थल परिसरमा विपद् उद्दार पोखरी निर्माण गर्दै नेपाली सेना

सुर्खेत । नेपाली सेनाले सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्दार पोखरी निर्माण गर्न लागेको छ ।

विमानस्थल परिसर हाताभित्रै रहेको नेपाली सेनाको पश्चिम एयर बेसले मानवीय सहायता तथा विपद् उद्दार पोखरी निर्माण गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको सहकार्यमा नेपाली सेनाले ९७ फिट लामो र १३ फिट गहिरो पोखरी निर्माण गर्न लागेको छ ।

शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानवीय सहायता तथा विपद् उद्दार पोखरी निर्माण कार्यको औपचारिक शुभारम्भ गर्दै विपद् न्यूनीकरणमा सामूहिक प्रयासको आवश्यक रहेको बताए । प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न सेनालगायत सुरक्षानिकायहरुसँग सहकार्य गरिरहेको बताउँदै उनले विपद्का घटना जतिबेला पनि आउन सक्ने भएकाले पूर्वतयारीका लागि विपद् उद्दार पोखरी उपयोगी हुने जनाए ।

पछिल्लो समय शहरदेखि गाउँसम्म आगजनीका घटना प्रतिदिन बढिरहेकोले हेलिकप्टरसहित दमकलबाट समेत अग्नी नियन्त्रणका लागि विपद् उद्दार पोखरीले सहजता हुने उनको विश्वास थियो । उक्त अवसरमा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपद् महाशाखा प्रमुख उत्तम गौतमले मानवीय सहायता तथा विपद् उद्दार पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने बताए ।

उनले नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण हुने यो पोखरीको लागत ९९ लाख ९६ हजार २ सय रुपैयाँ रहेको जानकारी दिए । नेपाली सेनाको सुर्खेतस्थित एयर वेशले कर्णाली तथा सुदुरपश्चिमका जनताहरुलाई विपद् तथा आकस्मिक घटनाहरुको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा मद्दत्त गर्दै आईरहेको छ ।

के हो ‘बम्वी बकेट’ ?

‘बम्वी बकेट’ एक प्रकारको अग्निशमन उपकरण हो । यसलाई हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जंगल डढेलो वा अन्य आगलागी भएको स्थानमा खसालिन्छ । ‘बम्वी बकेट’ छिटो र सजिलो तरिकाले पानी भर्ने उपकरण समेत हो ।

क्यानाडाई व्यापारी डाँन आर्नीले अविष्कार गरेको यो उपकरण सन १९८० देखि प्रयोगमा आएको हो । आधुनिक प्रविधिको विकासले २७० लिटरदेखि ९८४० लिटर भन्दा बढी क्षमताका विभिन्न मोड्लका ‘बम्वी बकेट’ हरु प्रयोगमा आईरहेका छन् ।

Translate »