गायक प्रशान्त तामाङको निधन

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको मृत्यु भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज बिहान उनको निधन भएको हो ।

केही स्रोतले हृदयघातलाई निधनको कारण भएको जनाएका छन् । इन्डियन आइडल जितेका तामाङ छोटो समयमा नै चर्चित थिए । नेपाली मूलका भारतीय गायक तामाङ इन्डियन आइडल २००७ को उपाधि जितेपछि नेपाल र भारत दुवैतर्फ लोकप्रिय बनेका थिए । उनले थुप्रै नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् ।

तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् । संगीत र अभिनय दुवै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका तामाङ इन्डियन आइडलको मञ्चबाट रातारात चर्चामा आएका थिए ।

पछिल्लो समय उनले सलमान खान अभिनित बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म २०२० को गलवान भिडन्तमा आधारित रहेको छ । तामाङको निधनको खबरले सङ्गीत क्षेत्रमा शोकको लहर छाएको छ ।

Translate »