इजाजत प्राप्त हातहतियार बुझाउन सुर्खेत प्रशासनको निर्देशन

सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले व्यक्तिगत नाममा इजाजत प्राप्त विभिन्न किसिमका हातहतियार तथा खरखजनाहरु नजिकको प्रहरी इकाईहरु वा जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा अनिवार्य रुपमा बुझाउन निर्देशन दिएको हो ।

व्यक्तिका नाममा दर्ता रहेका हातहतियार तथा त्यसमा प्रयोग हुने गोली यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले बताए । उनले निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको जानकारी दिए ।

निर्देशन अनुसार तोकिएको समयभित्र इजाजत प्राप्त हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जनाइएको छ ।

साथै, जिल्लामा कोही कसैले अवैध रुपमा हातहतियार राखेको थाहा भएमा नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा सूचना दिनु हुन समेत सर्वसाधारणलाई प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

Translate »