कार्यस्थलमा काम गर्ने श्रमिकको सुरक्षाबारे चासो कम हुँदा श्रमिक असुरक्षित


सुर्खेत । कारखाना तथा निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई व्यवसायजन्य असुरक्षाका कारण स्वास्थ्य जोखिम उच्च रहेको पाईएको छ ।
व्यवसायजन्य सुरक्षाका बारेमा रोजगारदातासँगै रोजगार गर्ने स्वयं कामदार सचेत नहुँदा स्वास्थ्य जोखिम उच्च रहेको पाइएको हो । कारखाना तथा निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई व्यवसायजन्य असुरक्षाका कारण ७९० भन्दा बढी प्रकारका रोगको जोखिम हुने गरेको बताईएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) सँगको सहकार्यमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य’ बारे छलफल कार्यक्रममा कार्यस्थलमा श्रमिक सुरक्षाबारे चासो कम हुँदा कामदारले असुरक्षित भएर काम गर्नु परिरहेको सरोकारवालाले बताएका छन् ।
व्यवसायिक स्वास्थ्य सुरक्षा विज्ञ दिपक लामिछानेले कार्यक्षेत्रको अवस्थाका कारण कामदारहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई कायम राख्नु महत्वपूर्ण विषय रहेको बताए । उनले सामान्य सुरक्षा सामग्री प्रयोग नगर्दा पनि कामदारको स्वास्थ्यमा दीर्घकालीन तथा तत्कालिन असरहरु देखा पर्ने गरेको जनाए ।
व्यवसायजन्य सुरक्षाको ठूलो चुनौती सुरक्षा सतर्कता नै नअपनाउनु रहेको उनको भनाइ थियो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्णकुमार खड्काले कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि कर्णालीका रोजगारदाताले कार्यान्वयन गर्न हेलचक्राई गरेको बताए । उनले कार्यस्थलमा रोजगारदाताले सुरक्षा सामाग्रीमा खर्च नगरेकै कारणले कामदारले अंगभंगदेखि ज्यानै समेत गुमाउनु परेका घटनाहरु सुनिने गरेको जनाए ।

दुर्घटना भएपछि उद्योग सिल गर्नु भन्दा पनि घटना हुन नदिने गरी काम गर्नु पर्नेमा उनको जोड थियो । नेपाल उद्योण वाणिज्य महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष हर्षविक्रम खड्काले कार्यस्थल क्षेत्रमा हुने दुर्घटना कम गर्ने हो भने सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने अवस्था रहेको बताए ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) का प्राविधिक संयोजक नरेशसिंह थारुले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको विषयसँगै स्वदेशमा रहेका श्रमिकको अवस्थालाई उत्तिकै रुपमा फराकिलो तरिकाले सम्बोधन गर्न आवश्यक रहेको औल्याए ।
उनले पालिकास्तरमा सचेतनाका कार्यक्रमसँगै काम गर्ने कार्यस्थलको लागि सुरक्षा सामाग्रीको लागि बजेटको व्यवस्था गर्नु आवश्यक रहेको जनाए । कार्यस्थलमा दुर्घटना कम गर्न प्रोजेट बनाउँदादेखि नै सुरक्षा सामाग्रीको खर्च व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा व्यवसायिक स्वास्थ्य सुरक्षा विज्ञ प्रकाश बराल, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश सीप विकास ईकाइका सदस्य पूर्णदेव अधिकारीसँगै कर्णालीका निर्माण तथा आईटी क्षेत्रका उद्यमी एवम् रोजगारदाताहरुको सहभागिता रहेको थियो ।


