‘पत्रकारले आफ्नो ओज घटाउन हुन्न’


बर्दिया । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले पत्रकारहरुले आफ्नो ओज घटाउन नहुने बताएका छन् ।
प्रेस काउन्सिलले नेपालको आयोजना र पत्रकार महासङ्घ बर्दियाको समन्वयमा आज गुलरियामा आयोजना गरिएको निर्वाचन आचार संहिता र सञ्चार माध्यम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष आचार्यले निर्वाचनको समयमा पत्रकार आचार संहिताको पूर्ण रुपमा पालना गरेमा पत्रकारको गरिमा नघट्ने बताएका हुन् ।

उनले निर्वाचन आचारसंहिता भित्र पत्रकारहरू पनि पर्ने हुनाले सम्पूर्ण पत्रकार र सञ्चार माध्यमले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । ‘सञ्चार माध्यम मात्र नभएर पत्रकारिता गरिरहेका पत्रकारहरूले पनि सामाजिक सञ्जाल चलाउँदा आचार संहिताको पालना गर्नुपर्छ,’ उनले भने, ‘प्रेस काउन्सिलले सम्पूर्ण पत्रकार र सञ्चार माध्यमको अनुगमन र नियमन गरिरहेको छ ।’
अध्यक्ष डा. आचार्यले प्रेस काउन्सिलले सदैव पत्रकार, सञ्चार माध्यम र प्रेस स्वतन्त्रताको रक्षा गर्ने बताउँदै उनले दर्ता भएका सञ्चार माध्यम र पत्रकारहरुलाई फौजदारी अभियोगबाट जोगाएर पत्रकार आचारसंहिता अन्तर्गतको कारबाही गर्ने गरेको बताए ।
कार्यक्रममा निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले पत्रकारहरूलाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गर्दै सबै पक्ष मिलेर निर्वाचनलाई सफल गराउन आग्रह गरे । नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका अध्यक्ष निर्मल घिमिरेले बर्दियाका पत्रकारहरूले पत्रकार आचार संहिता पूर्णरुपमा पालना गरी जनतालाई सुसुचित गराइरहेको बताए ।

