२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 24, 2026

भ्रष्टाचारको अवस्था उस्तै



काठमाडौं । भ्रष्टाचारको अन्तरराष्ट्रिय सूचकांकमा नेपालको खराब अवस्था यथावत् रहेको पाइएको छ । भ्रष्टाचारविरोधी अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले विश्वमा व्याप्त भ्रष्टाचारको अवस्थाको मूल्यांकन गरी जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२५ मा नेपालमा अघिल्लो वर्षको तुलनामा भ्रष्टाचार नियन्त्रण हुन नसकेको औंल्याएको छ ।

प्रतिवेदनमा नेपालको सीपीआई अंक गतवर्षकै स्थिर रहे पनि देशहरूबीचको वरीयतामा भने २ अंक घटेर १०७ बाट १०९औं स्थानमा झरेको छ । सन् २०१६ यताका १० वर्षमा नेपालले सर्वाधिक अंक सन् २०२३ मा पाएको थियो । उक्त वर्ष नेपालले ३५ अंक पाएको थियो । वरीयताका हिसाबमा नेपालको स्थान गतवर्षकै उच्च हो । सूचकांकअनुसार १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ । यस आधारमा पछिल्लो प्रतिवेदनले नेपालमा भ्रष्टाचार ‘गम्भीर समस्या’ नै रहेको औंल्याएको छ । यो सूचकांक २०२५ अगस्टसम्मको तथ्यांकमा आधारित छ ।

‘लामो समयदेखि ३५ भन्दा कम अंक पाउँदै आएको सन्दर्भमा नेपालमा पटकपटक सत्तामा रहेका सरकारहरूद्वारा भ्रष्टाचारविरुद्ध ठोस काम गर्न नसकेको देखाएको छ,’ प्रतिवेदनमा ट्रान्सपरेन्सी इन्टरनेशनलले भनेको छ, ‘भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र देशले बेहोर्नुपरेको अपूरणीय धनजनको क्षतिको कारक बढ्दो भ्रष्टाचार हो भन्ने आधारलाई सूचकांकको यस अवस्थाले पुष्टि गर्ने देखिन्छ ।’

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्मा जेनजी आन्दोलन र देशले बेहोर्नु परेको धनजनको क्षतिको कारक बढ्दो भ्रष्टाचार हो भन्ने आधारलाई सूचकांकको अवस्थाले पुष्टि गर्ने बताउँछन् । भ्रष्टाचारको विरोध गर्दै गत भदौमा नेपालमा जेनजी युवाको आन्दोलनपछि सत्ता परिवर्तन भएको थियो । प्रतिवेदनमा सूचकांक न्यून रहेका वा विगत १ दशकदेखि भ्रष्टाचारग्रस्त देशहरूमा जेनजीद्वारा भ्रष्टाचारविरुद्धको प्रदर्शन भएको देखिएको उल्लेख छ ।

नेपाल, माडागास्कर, फिलिपिन्स, इन्डोनेशियाजस्ता देशका जेनजी युवाले नेतृत्व वर्गको शक्ति दुरुपयोग तथा सुलभ सार्वजनिक सेवा, रोजगारी र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको महसूस गरी सडकमा उत्रिएर सशक्त विरोध गरेको प्रतिवेदनमा उल्लेख छ ।

जेनजी तथा युवा आन्दोलनबाट राजनीतिक भ्रष्टाचार निर्मूल गर्न नेपाली जनसमुदाय तत्पर रहेको उल्लेख गर्दै ट्रान्सपरेन्सीले आसन्न निर्वाचनबाट देशको शासनभार सम्हाल्न भ्रष्टाचारमा नमुछिएका स्वच्छ, इमानदार तथा प्रतिबद्ध राजनीतिज्ञको चयन हुन जरुरी रहेकोमा जोड दिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न देशको भ्रष्टाचार अवधारणा सूचकांक बनाउन अधिकतम १३ ओटा अन्तरराष्ट्रिय सर्वेक्षणका तथ्यांक प्रयोग गर्छ । नेपालको सूचकांक भने ६ ओटा अन्तरराष्ट्रिय संस्था (विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीईएम) ले विभिन्न क्षेत्र (जस्तैः व्यवसाय, शासन, नीति आदि) मा गरेको सर्वेक्षणको आधारमा तयार गरिएको हो ।

सूचकांकअनुसार डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ । विगत ८ वर्षदेखि उक्त सूचीमा शीर्ष स्थानमा रहँदै आएको डेनमार्कले यस वर्ष ८९ अंक प्राप्त गरेको छ । साउथ सुडान र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेका छन् । उक्त सूचकांकमा दुवै देशले ९ अंक प्राप्त गरेका छन् ।

दक्षिण एशियाली राष्ट्रहरूमा भुटानबाहेक अधिकांश देशमा भ्रष्टाचार समस्याकै रूपमा देखिएको छ । सूचकांकअनुसार दक्षिण एशियाली राष्ट्रहरूमा सबैभन्दा बढी अंक भुटानले पाएको छ । भुटानले ७१ अंक पाएको छ । त्यसपछि भारत र माल्दिभ्सले समान ३९ अंक, श्रीलंकाले ३५ अंक, पाकिस्तानले २८ अंक, बंगलादेशले २४ अंक र अफगानिस्तानले १६ अंक प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अंक पाएको छ ।

(आर्थिक अभियानबाट)

प्रकाशित मिति : २०८२ माघ २८ गते बुधबार
Translate »