खानेतेल २० प्रतिशतसम्म महँगिन सक्ने

विराटनगर । मध्यपूर्वमा बढ्दै गएको तनावको असर विश्वव्यापी वस्तुबजारमा पर्न थालेको छ । यसले नेपालमा खानेतेलको मूल्यमा उच्च वृद्धि हुनसक्ने देखिएको छ । कच्चा पदार्थको आपूर्तिमा अवरोध, ढुवानी भाडा वृद्धि र ढुवानी तालिकामा अनिश्चितताजस्ता कारणले निकट भविष्यमा खानेतेलको मूल्य २० प्रतिशतसम्म बढ्न सक्ने आकलन नेपाली खानेतेल उद्योग सञ्चालकहरूले गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष एवं बागमती आयल इन्डस्ट्रिजका सञ्चालक नन्दकिशोर राठीका अनुसार द्वन्द्वका कारण कच्चा पदार्थको मूल्य र ढुवानी खर्च दुवै बढेको छ । ढुवानी कम्पनीहरूले फोर्स मेजर (नियन्त्रणबाहिरको परिस्थिति) भन्दै प्रतिकन्टेनर १ हजार ५०० देखि २ हजार डलरसम्म अतिरिक्त शुल्क लगाएका छन् ।यसले आयात लागत उल्लेख्य रूपमा बढाएको राठीको भनाइ छ ।

राठीका अनुसार कच्चा वनस्पति तेलको मूल्य १० देखि १५ प्रतिशतले बढिसकेको छ । विनिमय दरमा हुने उतारचढाव र उच्च ढुवानी लागतका कारण आन्तरिक बजारमा भटमास, तोरी र सूर्यमुखी तेलको मूल्यमा प्रत्यक्ष असर पर्ने देखिएको छ । ढुवानीमा भएको ढिलाइले आपूर्ति शृंखलासमेत प्रभावित भएको राठीले बताए ।

नेपाल कच्चा खानेतेलको आयातमा ठूलो मात्रामा निर्भर छ । नेपालमा ब्राजिल, मलेशिया र युक्रेनजस्ता देशबाट भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ आयात गरिन्छ भने अस्ट्रेलिया र क्यानडाबाट तोरीको गेडा ल्याइन्छ । उद्योगीहरूका अनुसार यी आपूर्तिकर्ता देशहरूमा पनि द्वन्द्वको अप्रत्यक्ष प्रभाव देखिएकाले आपूर्ति अवस्था बिग्रिएको छ । यसले बजारमा अस्थिरता थपेको छ । विशेष गरी विश्वको कुल पेट्रोलियम आपूर्तिको झन्डै पाँच भागमा एक भाग ओगट्ने स्ट्रेट अफ हर्मुज क्षेत्र द्वन्द्वबाट नराम्ररी प्रभावित भएको छ । त्यहाँ हुने कुनै पनि अवरोधले विश्वभर ऊर्जाको मूल्य, ढुवानी भाडा र बीमा प्रिमियममा तत्काल असर पार्छ ।

मालवाहक जहाजहरूले हर्मुज क्षेत्र पूर्णरूपमा छलेर अर्को बाटो रोज्न सक्दैनन् । त्यस क्षेत्रको समग्र अस्थिरताले विश्वव्यापी ढुवानी सञ्जालमा दबाब बढाएको छ । साथै, लाल सागरजस्ता नजिकका मार्गहरूमा सुरक्षा जोखिम बढेपछि धेरै जहाजले स्वेज नहर छोडेर अफ्रिका महादेश घुमेर लामो मार्ग अपनाउन थालेका छन् । यसले पारवहन समय र ढुवानी लागत दुवै बढाएको छ ।

अन्तरराष्ट्रिय ढुवानी मार्गमार्फत कच्चा तेल आयात गर्ने नेपालका लागि यस्तो अवरोधले ढुवानीमा ढिलाइ, उच्च लागत र आपूर्तिको अनिश्चितता निम्त्याएको छ । मोरङ व्यापार संघका उपाध्यक्ष एवं क्वालिटी रिफाइनरीका सञ्चालक विपिन काबराका अनुसार कच्चा भटमास तेलको मूल्य प्रतिटन १ हजार २२० डलरबाट बढेर करीब १ हजार २८० डलर पुगेको छ । त्यसैगरी, सूर्यमुखी तेलको मूल्य प्रतिटन १ हजार ४०० डलरबाट बढेर १ हजार ५२० डलर पुगेको छ ।

पशुपति खाद्य तेल उद्योगका सञ्चालक एवं मोरङ व्यापार संघका महासचिव अमित शारडाले आपूर्तिकर्ताले अहिले नयाँ अर्डर लिन हिचकिचाइरहेको बताए । विदेशी आपूर्तिकर्ताले पठाएको सूचनामा ढुवानी तालिका अनिश्चित रहेको, थप शुल्क लाग्न सक्ने र समयमै सामान पुग्ने ग्यारेन्टी नभएको उल्लेख गरेको शारडाले बताए । ‘हामीलाई नयाँ अर्डर नगर्न सल्लाह दिइएको छ,’ शारडाले भने, ‘जुन उद्योगका सामानहरू लोड भइसकेका छैनन् वा कन्टेनर प्राप्त भएका छैनन्, उनीहरूलाई पर्खन भनिएको छ ।’

द्वन्द्वले विश्वव्यापी पेट्रोलियम मूल्य पनि बढाइरहेको छ । यसले उत्पादन र ढुवानी लागतमा थप दबाब दिएको छ । धेरै नेपाली आयातकर्ताले अहिलेको जोखिमपूर्ण अवस्थामा ‘पर्ख र हेर’को रणनीति अपनाउँदै नयाँ ढुवानी रोकेका छन् ।

अन्तरराष्ट्रिय बजारमा लागत बढ्दै गए पनि आन्तरिक बजारमा प्रशोधित खानेतेलको मूल्य अझै समायोजन भइसकेको छैन । तर, काबरा र शारडा दुवैले वर्तमान अवस्था कायमै रहे मूल्य वृद्धि अपरिहार्य हुने बताए ।

मध्यपूर्वको जारी द्वन्द्वका कारण आपूर्तिमा अवरोध, बढ्दो ढुवानी भाडा र वस्तु तथा इन्धन बजारमा देखिएको अस्थिरताले नेपाली उपभोक्तालाई सीधा असर पर्ने निश्चित देखिन्छ । स्थितिमा सुधार नआए खानेतेलको मूल्य उल्लेख्य वृद्धि हुने सम्भावना प्रबल छ ।  (आर्थिक अभियान)

Translate »