अवैध जडीबुटीसहित ४ जना पक्राउ

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रुपमा संकलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज प्रशासनमा बुझाइएको हो ।

नेपाली सेनाको संयुक्त गस्ती टोलीले सोमबार राति करिब ९ बजेबाट सुरु गरेको अपरेसन अन्तर्गत आज बिहान साढे ३ बजेसम्म त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट क्षेत्रमा छापा मारेको थियो । सो क्रममा करिब ३५ क्विन्टल (१०१ बोरा) पदमचाल जडीबुटी र दुई वटा ट्र्याक्टर बरामद गरिएको छ ।

सङ्ग्राम शार्दूल गुल्मका उपसेनानी सुशील दाहालको कमाण्डमा नेपाली सेना र निकुञ्ज प्रशासन कार्यालयका सिनियर गेम स्काउटसहितको संयुक्त टोलीले अप्रेशन सञ्चालन गरेको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यानको कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा, ट्र्याक्टर चालक रुकुम पश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण बिक, र त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकाया रहेका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको श्री सङ्ग्राम शार्दूल गुल्मका सेनानी हरिश शाहीले बताए ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी सङ्कलन गरेको र जिल्ला बाहिर पठाउन लागेको अवस्थामा बरामद गरिएको हो ।

पछिल्लो समय डोल्पामा जठामसी (भुल्ते) संकलनमा प्रतिबन्ध लगाइएको र पदमचालको हकमा समेत कार्ययोजना अध्ययनपछि मात्र उपयुक्त क्षेत्र पहिचान गरी अनुमति दिइने व्यवस्था रहेको उनले जानकारी दिए ।

 

Translate »