फेरि १५ रुपैयाँले बढ्यो इन्धनको भाउ, पेट्रोल हालसम्मकै महँगो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (शुक्रबार) देखि लागू हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । आयल निमागले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल रमट्टितेलमा फेरि प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको हो । निगमले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै एलपी ग्यासको मूल्य भने यथावत् राखी पेट्रोल,डिजेल र मट्टीतेलमा मूल्य बढाउन बाध्य भएको जनाएको छ ।

पेट्रोलको मूल्य इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यसअघि रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार उचालिँदा नेपालमा पेट्रोलको भाउ एक सय ९९ रुपैयाँ पुगेको थियो । त्यसयता भाउ पुनः ओरालो लागे पनि अहिले चार वर्षअघिको रेकर्ड ब्रेक गरेको हो । डिजेलको भाउ त्यतिवेला एक सय ९२ रुपैयाँ प्रतिलिटर पुगेको थियो ।

निगमले विज्ञप्तिमा ‘अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोहीअनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य वृद्धि भई इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने देखिएको उल्लेख गरेको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट हालसम्म मागबमोजिमको परिमाणमा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेको भए तापनि समयमै भुक्तानी गर्न नसक्दा इन्धन आपूर्ति शृंखला प्रभावित हुनसक्छ ।

चैत लागेयता मात्र पेट्रोल ४५ र डिजेल ४० रुपैयाँ महँगियो

चैत लागेयता मात्रै निगमले चारपटक मूल्य समायोजन गरेर पेट्रोलमा ४५ र डिजेलमा ४० रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ । निगमले १ चैतमा मूल्य बढाउनुअघि पेट्रोल एक सय ५७ र डिजेल एक सय ४२ रुपैयाँ प्रतिलिटर थियो  ।

१ चैतमा पेट्रोल १५ र डिजेल १० रुपैयाँ प्रतिलिटर बढाइयो । त्यसपछि ११ चैतमा पुनः पेट्रोल १५ र डिजेल १५ रुपैयाँ बढाइयो  । १७ चैतमा निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर दुई सय ५१ रुपैयाँ निर्धारण हुने गरी मूल्य समायोजन गरेको थियो  ।

त्यसपछि, बिहीबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य थप १५–१५ रुपैयाँ बढाइएको हो ।

Translate »