अब टेलिकमको डाटा सकिँदा स्वतः पैसा नकाटिने


काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरुका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् ।
विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रुपान्तरण प्रक्रिया अघि बढाइएको हो । नेपाल टेलिकमका प्रयोगकर्ताहरुले लामो समयदेखि डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्याबारे गुनासो गर्दै आएका थिए ।
अब यो प्रणाली अन्त्य गरिएको छ । यसको सट्टा ग्राहकले थप पारदर्शी र आफैं छान्न सक्ने विकल्पसहितको सेवा पाउनेछन् । अब ग्राहकले लिएको डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि पूर्वसूचना दिइनेछ । जसले बाँकी डाटा कति छ भन्ने जानकारी समयमै दिन्छ । यससँगै ‘पे–एज–यू–गो’ (पिएवाईजी) अर्थात् डाटा प्याकेजबिनै इन्टरनेट चलाउने र रकम काट्ने विकल्प उपलब्ध गराइएको छ ।
जसले ग्राहकलाई प्याकेजबिना पनि आवश्यकताअनुसार इन्टरनेट प्रयोग गर्नसक्ने सुविधा दिन्छ । साथै, ग्राहकले नयाँ प्याकेज लिने वा सिधै पिएवाइजी मोडमा जाने भन्ने निर्णय आफैं गर्न सक्नेछन् ।

नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो प्रणाली हाल परीक्षण चरणमा रहेको र केही दिनभित्रै पूर्ण रूपमा लागू हुनेछ । उनका अनुसार ‘युएसएसडि’मार्फत खरिद गरिने डाटा प्याकमा यो सुविधा तीनदेखि पाँच दिनभित्र लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एप प्रयोग गर्ने ग्राहकका लागि सातदेखि १० दिनभित्र कार्यान्वयनमा आउनेछ । यसले डिजिटल माध्यममार्फत सेवा प्रयोग गर्ने ग्राहकहरुलाई अझ सहज अनुभव दिने विश्वास लिइएको छ ।
नेपाल टेलिकमका ग्राहक सेवा प्रक्रियालाई सरल र प्रभावकारी बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू गर्न पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले निर्देशन दिएका छन् । यसबाट ग्राहकले एकपटक मात्र आफ्नो विवरण बुझाएपछि भविष्यमा फेरि त्यही विवरण पेस गर्नुपर्ने झन्झट अन्त्य हुने जनाइएको छ ।
अहिले सिम कार्ड लिन, नवीकरण गर्न वा अन्य सेवा लिन जाँदा बारम्बार कागजात पेस गर्नुपर्ने समस्या थियो । जसले ग्राहकलाई हैरानी दिँदै आएको थियो । नयाँ प्रणाली लागू भएपछि सेवा प्राप्ति प्रक्रिया छिटो, सरल र झन्झटरहित हुने अपेक्षा गरिएको छ । यो प्रणाली आगामी ३० दिनभित्र कार्यान्वयनमा ल्याइसक्ने लक्ष्य राखिएको छ ।
यससँगै, फोरजी मोबाइल नेटवर्क सेवाको गुणस्तर सुधार गर्ने काम पनि भइरहेको छ । हाल देशका विभिन्न स्थानमा फोरजी सेवा कमजोर रहेको गुनासो व्यापक रुपमा उठ्दै आएको छ । यस समस्यालाई समाधान गर्न नीतिगत व्यवस्था परिमार्जन गर्ने र थप फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी ३० दिनभित्र आवश्यक नीतिगत सुधार सम्पन्न गरी सेवा गुणस्तरमा सुधार ल्याउने लक्ष्य राखिएको छ । रासस

