

काठमाडौं । पारिजात स्मृति केन्द्रले ‘पारिजात कृतिसम्मान २०८२’ डा.नवराज केसीको ‘स्वस्पर्श’ निबन्धलाई प्रदान गर्ने भएको छ ।
सम्मानका लागि गठित छनोट समितिले पहिलो चरणमा आठ कृतिको छनोट गरेको थियो । छनोटमा निबन्ध विधातर्फ स्वस्पर्श डा. नवराज केसी ‘स्वस्पर्श’ परेको हो । पहिलो चरणमा छनोट भएका कृतिमध्येबाट गहन अध्ययन, मूल्यांकन र छलफलपछि छनोट समितिले स्वस्पर्श लाई ‘पारिजात कृतिसम्मान २०८२’ का लागि सिफारिस गरेको थियो । समितिको सिफारिसका आधारमा केन्द्रले उक्त कृतिलाई सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

पारिजात स्मृति केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले विज्ञप्ति जारी गर्दै सम्मान आगामी साउन १० गते आयोजित विशेष कार्यक्रममा प्रदान गरिने जानकारी दिएका छन् । श्रेष्ठका अनुसार यो पुरस्कार यसै वर्षदेखि पारिजातको साहित्यिक योगदानको स्मरणस्वरुप प्रदान गर्न थालिएको छ ।













