

काठमाडौं । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग विभागले आज देशका पहाडी भू–भागका एक–दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका एक–दुई स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागद्वारा मौसम बुलेटिनमा उल्लेख छ ।
मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बुधबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ । विभागले आगामी तीन दिन वर्षाको गतिविधि बढ्ने भएकाले विशेष गरी सुन्तला रङले सङ्केत गरिएका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
सतर्कता अपनाउन आग्रह
विभागले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी ९फ्ल्यास फ्लड० को जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ ।
त्यसैगरी, ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी ९पूर्व०, नवलपरासी ९पश्चिम० तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।
विभागले उच्च जोखिम भएका क्षेत्रमा नदी तटीय बस्ती, होचा भूभाग तथा खोलानाला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । आवश्यक परे सुरक्षित स्थानमा जान तयारी अवस्थामा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा पूर्वसूचना नियमित रूपमा पालना गर्न पनि विभागले अनुरोध गरेको छ ।
यस्तै, मध्यम जोखिम रहेका जिल्लामा नदी तथा खोलाको सतह बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्दा सावधानी अपनाउन तथा सम्भावित जोखिमबारे अद्यावधिक सूचना लिँदै सुरक्षित रहन विभागले आग्रह गरेको छ । रासस











