२०८३ साउन १८ , सोमबार
Sky News Nepal
August 4, 2026

सुर्खेतको चौकुने स्थित मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा



सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले काम नै नभएको शीर्षकहरुमा समेत खर्च भएको भनी झुट्टा विवरण तयार गरी भ्रष्टाचाार गरेको आरोपसहित आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७२/७३ देखि आव २०७८/७९ सम्मको झाडी सफाइ, अग्नीरेखा निर्माण, खरघाँस रोपण/वृक्षरोपण, वनहेरालु तलब, भैंसीपालन, बाख्रापालन, डढेलो नियन्त्रण, मौरी घार समेतका खर्चहरुको नक्कली बिल भरपाइ देखाइ लेखापरीक्षण गरी वनबाट आम्दानी भएको रकम हिनामिना गर्ने कार्य गरेको आयोगको आरोप छ ।

समूहका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखापरीक्षकसमेतको मिलेमतो तथा योजनामा उक्त वन उपभोक्ता समूहले काठ बिक्री तथा आपूर्तिबाट आम्दानी गरेको रकमबाट आव २०७२/७३ देखि आव २०७६/७७ सम्ममा रु ३९ लाख १२ हजार हिनामिना हानी नोक्सानी गरेको पाइएको छ ।

समूहका पूर्वअध्यक्ष खीमबहादुर सावद, सचिव बनौली रोकाय र कोषाध्यक्ष जमानसिंह धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा बिगो रु १६ लाख ४३ कायम गरिएको आयोगले जनाएको छ । समूहका पूर्वअध्यक्ष पदमसिं सावद, सचिव पूर्णदेवी धामी र कोषाध्यक्ष रुद्रबहादुर बान्तोलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा रु २२ लाख ६८ हजार बिगो कायम गरिएको छ ।

त्यस्तै समूहका पूर्वअध्यक्ष हर्कबहादुर बुढा, सचिव तुल्सी दानी र कोषाध्यक्ष चक्रबहादुर सावदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुरमा रु तीन लाख ९० हजार बिगो कायम गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

‘पाठक एण्ड एसोसियट्स’का रजिष्टर्ड लेखापरीक्षक डिल्लीराम पाठक र प्रेमबहादुर विसी एण्ड कम्पनीका रजिष्टर्ड लेखापरीक्षक प्रेमबहादुर विसीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको छ । रासस

 

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार
Translate »